Logo

नेपाल ट्रष्टको जग्गामा पर्खाल निर्माण



भक्तपुर,२० पुस । भक्तपुर नगरपालिका–१ सल्लाघारीमा नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गामा भक्तपुर नगरपालिकाले पर्खाल निर्माण शुरु गरेको छ ।

प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पर्खाल निर्माणको आज शिलान्यास गर्नुभयो । उक्त जग्गाको संरक्षण र सदुपयोग गर्ने उद्देश्यले नगरपालिकाको रु ९८ लाखको लागतमा उक्त जग्गाको वरिपरि पर्खाल निर्माण शुरु गरिएको हो ।

शिलान्यासपछि कार्यक्रममा सांसद सुवालले नेपाल ट्रष्टको ऐनमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा जग्गा उपयोग गर्न मिल्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त जग्गामा ख्वप विश्वविद्यालय निर्माण गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले १०८ रोपनी दुई आना एक पैसा क्षेत्रफल रहेको सो जग्गा अतिक्रमणको चपेटामा पर्ने भएपछि संरक्षण गर्न पर्खाल निर्माण गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले उक्त जग्गामा ख्वप विश्वविद्यालय र मेडिकल कलेज निर्माण गर्न सरकारसँग माग गरिएको बताउनुभयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले तत्कालीन राजा वीरेन्द्र शाहदेखि अहिलेसम्मका प्रधानमन्त्रीलाई ख्वप विश्वविद्यालय बनाउने स्वीकृत प्रदान गर्न र जग्गा प्रदान गर्न माग गरिएको जानकारी गराउनुभयो ।

सो विश्वविद्यालय स्वीकृतका लागि संसद्मा विधेयक पेश भएको ११ वर्ष बित्दा पनि विधेयक पास नगरिएको बताउँदै उहाँले उक्त जग्गामा कुनै व्यापारिक क्षेत्र वा खेल मैदान बनाउन नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टले दुरुपयोग भईरहेको नेपाल ट्रष्टको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले सो जग्गामा भौतिक संरचना निर्माणका लागि प्रहरी प्रशासनका तर्फबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीयवासीको जग्गा अधिग्रहण गरी राजपरिवारको नाममा रहेको उक्त जग्गा गणतन्त्र आएपछि नेपाल ट्रष्टको नाममा रहेको छ । उक्त जग्गामा नगरपालिकाले चार फिट अग्लो र त्यसमाथि तीन फिट जाली रहने गरी पर्खाल निर्माण गर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्