Logo

वाइडबडी प्रकरणमा सत्तापक्ष र राजपाका सांसदबीच घम्साघम्सी (भिडियो)



पुष २१, काठमाण्डौ । नेपाल वायुसेवा निगमले भित्र्याएका २ वटा वाइडबडी विमान खरिद प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समितिले शुक्रबार बैठक डाकेको थियो ।

बैठकमा अधिकांश सांसदहरु निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारविरुद्ध केन्द्रित भए भने कतिपयले संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बचाउ गरे ।

सत्तारुढ दल नेकपाका नेता तथा सांसदले अधिकारीको बचाउ गर्न खोजे पनि अन्य दलबाट भने उनको चर्को विरोध भएको छ ।

शुक्रबार साँझ प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले महालेखा परिक्षकले जहाज खरिदमा अनियमितता भएको हुनसक्ने भन्दा भन्दै पनि मन्त्री अधिकारीले अन्तिम किस्ताबापतको रकम पठाउन स्वीकृति दिएर गलत गरेको जिरिक गरेकी छिन् ।

वाइडबडी खरिदमा भ्रष्टाचार भएको विषयमा अब कोही पनि अन्योलमा नरहेको चौधरीले बताइन् ।

यता नेकपाका सांसद सूर्य पाठकले भने संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन प्राकृतिक न्यायको सिद्धान्त विपरित रहेको भन्दै प्रतिवेदनको औचित्यमाथि नै प्रश्न उठाए ।

जीवन शाही पर्यटनमन्त्री हुँदा नै नक्कली कम्पनी खडा गरेर विमान खरिद प्रक्रिया सुरु भएको र जितेन्द्रनारायण देव पर्यटनमन्त्री हुँदा पहिलो किस्ता दिन सुरु गरिएकाले हालका पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्दोष रहेको पाठकको तर्क छ ।

बैना रकम दिने शाही र पहिलो किस्ता दिने जितेन्द्रलाई नैतिक जिम्मेवारी लिए हुन्छ भन्ने तर अन्तिम किस्ता बुझाउने अधिकारीलाई सबैभन्दा बढि कारबाही गर्नूपर्छ भन्ने कुरा प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको पाठकले बताए ।

पाठकले समितिको प्रतिवेदन नै हचुवाका भरमा ल्याइएकोसमेत आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्