Logo

टेस्ट क्रिकेटः दक्षिण अफ्रिकाद्वारा पाकिस्तान पराजित



काठमाडौँ,२२ पुस । दक्षिण अफ्रिकाले न्यूल्यान्डमा खेलिएको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानलाई नौ विकेटले पराजित गरेको छ ।जितका लागि ४१ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले ९।५ ओभरमा एक विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य चौथो दिन एक घण्टाभित्रै पूरा गरेको थियो ।

उक्त जितसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा लगातार सातौं पटक शृङ्खला कब्जा गरेको छ । तीन टेस्टको यस शृङ्खलामा पहिलो टेस्ट अफ्रिकाले छ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट आगामी शुक्रबारदेखि जोहानेसबर्गमा शुरु हुँदैछ ।

यस खेलमा टस हारेर पहिले ब्याटिङ गर्नुपरेको पाकिस्तानले सबै विकेट गुमाई पहिलो इनिङमा १७७ र दोस्रो इनिङमा २९४ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिङमा ४३१ रन बनाएको थियो ।

भारत–अस्ट्रेलिया टेस्टः भारत बलियो स्थितिमा

अस्ट्रेलियाको सिड्नीमा भइरहेको चौथो तथा अन्तिम टेस्ट खेलमा भारत बलियो स्थितिमा पुगेको छ । टस जिती ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सात विकेटको क्षतिमा ६२२ रनको विशाल स्कोर खडा गरेको छ ।

तुलनात्मक रुपमा सहज ब्याटिङ पिच देखिएको सिड्नीमा अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाई ३०० रन मात्र बनाएपछि भारतले अस्ट्रेलियालाई फलोअनमा पठाएको छ । अस्ट्रेलियाको घरेलु मैदानमा ३० वर्षपछि पहिलोपटक अस्ट्रेलिया फलोअनमा परेको हो ।

अस्ट्रेलियाले दोस्रो इनिङमा चौथो दिनको समाप्तिसम्म बिना क्षति ६ रन बनाएको छ ।यस शृङ्खलामा भारत २–१ ले अघि छ, र यो खेल बराबरी गरेमा वा विजयी भएमा भारतले शृङ्खला कब्जा गर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्