Logo

स्पेनिस ला लिगा फुटबल : घरेलु मैदानमा रियलको हार



काठमाडौं, २३ पुस । स्पेनिस ला लिग फुटबलमा रियल मड्रिड घरेलु मैदानमै पराजित भएको छ। आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग आफ्नै मैदानमा २-० गोल अन्तरमा पराजित भएको हो।

सान्टियागो बेर्नाबेउमा रियललाई स्तब्ध बनाउन सोसीडाडका विलियन जोसे र रुबेन पार्डोले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै विलियन जोसेले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोली सोसिडाडले अग्रता बनाएको थियो।

त्यसपछि रियलले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ १-० ले पछि पर्‍यो।

घरेलु मैदानमै दबाब खेपेको रियल दोस्रो हाफको ६१ औं मिनेटमा १० खेलाडीमा समेटियो। लुकास भाज्केज दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियललाई खेल बराबरी गर्न समस्या भयो।

खेलको ८३औं मिनेटमा विलियनको पासमा रूबेन पार्डोले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि पनि रियलले केही राम्रा मौकालाई सदुपयोग गर्न नसक्दा घरेलु मैदानमै हार व्यहोर्नुपर्‍यो।

यो हारसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लने मौका गुमाउँदै पाँचौ स्थानमा झरेको छ। रियलले १८ खेलमा ३० अंक जोडेको छ। चौथो स्थानमा उक्लिएको आलाभेसको ३१ तथ तेस्रो स्थानको सेभिल्लाको ३३ अंक छ।

यस्तै दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३५ तथा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ४० अंक छ। यो हारबाट उपाधि होडमा रहेको रियल शीर्ष स्थानको रहेको बार्सिलोनाभन्दा १० अंकले पछाडि परेको छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्