Logo

चिकित्सा शिक्षा विधेयकमा नेकपा र कांग्रेसबीच जुँगाको लडाई



पुष २६, काठमाण्डौ । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेको छ । काँग्रेसका सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरितका बुदाहरु पनि समावेश गरिएको भन्दै सो विधेयकमा फरक मत राखेका थिए ।

नेकपा सांसदहरुले भने केसीसँगको सहमतिअनुसार नै विधेयक पारित भएको दावी गरेका छन् ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदन समितिको बैठकले हुबहु बहुमतले पारित गरेको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरितका बुदाहरु पनि समावेश गरिएको भन्दै सो विधेयकमा फरक मत राखेका थिए । २३ जना समितिका सदस्यमध्ये १८ जना बैठकमा सहभागी भएको थिए । उनीहरु मध्ये १४ जना सांसदहरुको बहुमतले सो विधेयक पारित गरिएको हो ।

काँग्रेसका ४ जना सांसदहरुले भने सो विधेयकमा फरक मत राख्नु भएको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुको बहुमतले विधेयक पारित गरेपछि त्यसमा असहमति राख्नु भएका समितिका सदस्य एवम् काँग्रेस सांसद गगन थापाले केसीको माग पूरा नगरी प्रतिवेदन पारित हुनु थियो भने किन सरकारले केसीसँग सहमति गरेको भनि प्रश्न पनि गर्नु भयो । उहाँले वरिष्ठ चिकित्सक केसीलाई सरकारले फेरी पनि ठूलो धोका दिएको प्रतिक्रिया दिनु भयो ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले भने विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसारनै पारित भएको दावी गर्नु भयो । उहाँले विधेयकले चिकित्सा क्षेत्रको सुधारमा उल्लेख्य योगदान पु¥याउने विश्वास पनि व्यक्त गर्नु भयो ।

विधेयकको प्रस्तावना, काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने, सिटिईभीटीको कार्यक्रम फेज आउट गर्नेलगायतका विषयमा समितिमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदबीच मत बाझिएको थियो । विधेयकमा यस अघि सम्बन्धन लिएका मेडिकल कलेजहरु खारेज नहुने व्यवस्था राखिएकोमा काँग्रेस सांसदहरुको आपत्ति छ । सोही बुदा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग सरकारले गरेको सहमति विपरितको बूँदा पनि हो ।



प्रतिक्रिया दिनुहोस्