Logo

प्रधानसेनापति थापाले भारत भ्रमण गर्नुहुने



काठमाडौँ, २६ पुस। प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्नुहुने भएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज यहाँ जनाएको छ ।

दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । साथै उहाँले सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नुहुनेछ ।

सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण

नेपाली सेनाको प्रवक्ता एवं जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पद सहायक रथी यामप्रसाद ढकालले सम्हाल्नुभएको छ ।

यसअघिका प्रवक्ता एवं निर्देशक सहायक रथी गोकुल भण्डारीले आज एक कार्यक्रमका बीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगत्बीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगत्को सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्