Logo

काठमाडौँ ‘भ्यू टावर’ निमाणमा ढिलासुस्ती



काठमाडौँ,२६ पुस । करीब चार वर्षदेखि निर्माण कार्य शुरु गरेको काठमाडौँ भ्यू टावर दृश्यावलोकनस्तम्भ निर्माणको कामले अझै गति लिन सकेको छैन ।निर्माण कार्य शुरु गरेको चार वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिकाले नै स्वीकार गरेको छ ।

कामपा, निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेका अनुसार सम्झौता भएकोअनुसार काम हुने हो भने अहिले त कम्तिमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन ।

अहिलेसम्ममा जमीन मुनी ८० प्रतिशत काम भएको छ भनेमाथि नगन्य मात्रामा मात्रै काम भएको छ, समग्रमा १५ प्रतिशत भन्दाबढी काम भएको छैन ।

स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो । सम्झौतानुसार सम्झौता भएको पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् ।

काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । “पछि काम गर्ने वातावरण हुँदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन । कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रूपमा बुझाउनुपर्ने सम्झौता अनुरुपको कर दिइरहेको छ”, प्रमुख काफ्लेले भन्नुभयो ।

नियमानुसार सम्झौताअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक दुई वर्षका लागि समय थप्न मिल्छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ ।

निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका, गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् ।

स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट््याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लो घर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ ।

कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म कामपालाई कर स्वरुप रु पाँच करोड बुझाइसकेको छ ।

तीन वर्षदेखि निर्माण शुरु गर्ने योजना भएकाले बसपार्कबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ ।

हाल केही समयका लागि तय गरिएको बसपार्क साँगुरो हँुदा यातायातको साधनले खुम्चिएर आवतजावत गरिरहेका छन् । कम्पनीले आवश्यकता ठहर गरे अबको केही दिनमा नै कामपाले समय थप गर्नेछ ।रासस



प्रतिक्रिया दिनुहोस्