Logo

ललितपुर महानगरपालिकामा प्रबलीकरण शुरु भएन



काठमाडौँ,२६ पुस । जिल्लामा सबैभन्दा बढी प्रबलीकरणका लाभग्राही रहेको ललितपुर महानगरपालिकामा प्रवलीकरणको काम शुरु हुन सकेको छैन ।

अहिलेसम्म प्रबलीकरणसकेर दोस्रो किस्ता वापतको रकम लिनेको सङ्ख्या महानगरमा शून्य रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको जिल्ला अनुदान कार्यान्वयन एकाइले जनाएको छ ।

प्रबलीकरणका विषयमा भूकम्प प्रभावित मात्रै होइन, प्राविधिक र स्थानीय तह प्रष्ट हुन नसक्दा काम अघि बढ्न नसकेको महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरीशचन्द्र लामिछानेले बताउनुभयो । अधिकांश लाभग्राहीले यसलाई सामान्य मर्मतका रुपमा लिएका छन् । अहिले पनि कतिपय लाभग्राही प्रवलीकरणबाट पुनःनिर्माणमा त कतिपय पुनःनिर्माणबाट प्रबलीकरणमा जान चाहेका छन् । उहाँले भन्नुभयो, “प्रबलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट त्यसमा जान गाह्रो भएको महानगरवासीले बताएका छन् ।”

प्राधिकरणले पहिले स्थानीय तहलाई सो विषयमा प्रष्ट पार्नुपर्नेमा उहाँको जोड छ । स्थानीय तह आफैँले पहिले बुझ्दा मात्रै महानगरवासीलाई प्रवलीकरणका लागि कतिसम्म गर्नुपर्छ भन्ने बुझाउन सक्छ । उहाँले भन्नुभयो, “अहिले धेरैले अलिअलि टालटुल गरेपछि अनुदान रकम पाइन्छ भन्ने नै बुझिरहेका छन् ।”

प्रवलीकरणमा झण्डै आधा लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेको एकाइले जनाएको छ । त्यसमा अहिलेसम्म एक हजार ३८१ लाभग्राही रहेकामा ४६३ लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको छ । तीमध्ये ४१५ ले मात्रै पहिलो किस्तावापतको रकम पाएका छन् । महानगरपालिका पुनःनिर्माणमा पनि जिल्लाका अरु स्थानीय तहभन्दा पछाडि छ ।रासस



प्रतिक्रिया दिनुहोस्