Logo

बम्जनमाथि शंका छ, उनको आश्रम खोजि भइरहेको छ : नेपाल प्रहरी (भिडियोसहित)



पुष २६, काठमाण्डौ । तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता र हत्या गरेको आरोप लागेका रामबहादुर बमजनमाथि अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका त्यसबेलाका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए ।

तर अहिले उनीमाथि हत्या, बलात्कार र मान्छे बेपत्ता पारेको आरोप लागेको छ ।

बमजन आबद्ध संस्था, बोधी श्रवण धर्मसंघले एक विज्ञप्ति निकाल्दै, सञ्चारमाध्यममा उनीबारे आएका समाचार अस्विकार गरिरहेको छ ।

तर विहिबार जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले अनुसन्धानका क्रममा कमलामाई–८ का इन्द्रबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उनी बमजनको सिन्धुलीस्थित आश्रममा बस्छन् ।

जिल्ला प्रहरी कार्यालयले स्याङ्त्यानमाथि अनुसन्धान गरिरहेको छ ।

यसअघि बुधबार प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेपाल प्रहरीका सहायक प्रवक्ता रामभक्त जोशीले बम्जनको आश्रमको खोजि गरिरहेको बताएका थिए ।

पछिल्लो समय चर्चा र विवादसँगै विभिन्न आरोप लागेका बम्जनबारे प्रहरीले अनुसन्धान गरिरहेको जोशीले जानकारी दिएका थिए । अनुसन्धाका क्रममा बम्जनमाथि लागेका आरोपसँग सम्बन्धित प्रमाणहरु प्रहरीले खोजिरहेको उनले बताए ।

अहिले भने अनुसन्धान जारी भएकाले बम्जनको बारेमा केही भन्न नसकिने जोशीले बताए ।

अहिलेसम्म पाँच जना व्यक्तिलाई बम्जनले बेपत्ता पारेको, एक जनाको हत्या गरेको र एक जनालाई बलात्कार गरेको आरोपसहित उजुरी परेको जोशीले बताए ।

कुराकानीका क्रममा बमजन आबद्ध संस्था, बोधी श्रवण धर्मसंघका प्रवक्ता मणि लामाले भने बम्जन वास्तविक तपस्वी भएको जिकिर गरेका थिए । उनले बम्जनमाथि अनावश्यक षडयन्त्र गरिएको आरोपसमेत लगाए ।

बलात्कार, हत्या र वेपत्ताबारे भने आफूलाई कुनै जानकारी नभएको लामाले बताए ।

प्रहरीले यसअघि सिन्धुपाल्चोकमा रहेको बमजनको आश्रममा छापा मारेको थियो । त्यहाँ अस्वाभाविक गतिविधि देखिएको दाबी गरिएको थियो ।

हाल बमजन सिन्धुलीकै आश्रममा रहेको बताइँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्