Logo

पर्यटन प्रर्वद्धनमा लगानी आवश्यकः नेता नेपाल



पत्रकार धमलालाई गन्तव्य नेपाल पत्रकारिता अवार्ड प्रदान
काठमाडौँ, २७ पुस। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।

गन्तब्य नेपालन्यूज डटकमको सातौँ वार्षिकोत्सवका शुक्रबार यहाँ उद्घाटन गर्दै उनले बिना लगानी र मेहनत पर्यटन प्रवद्र्धन नहुने भन्दै यसका लागि सरोकार भएका निकायको सक्रिय भूमिका चाहिने उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अथाह सम्भावना भएर पनि नेपालको पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि पर्यकीय पूर्वाधार र सम्पदा प्रवद्र्धनमा सरकार र निजी साझेदारितालाई प्रभावकारी बनाइनुपर्ने बताए ।

उनले भने–“नेपालीको जस्तो आतिथ्यता संसारमा कही पाइन्न, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुकले सबै भन्दा लाभ लिने क्षेत्र भनेकै पर्यटन हो, यसका लागि राज्य र समाज सहकार्यका साथ अघि बढ्नुपर्छ ।”

सन् २०१८ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिएको सन्दर्भमा नेता नेपालले मुलुकको प्रचुर पर्यटकीय सम्भावनाकाबीच यो संख्या अत्यन्तै न्यून हो भन्दै २० लाख हैन ३० देखि ५० लाखको हाराहारीमा पर्यटक स्वागत गर्नेगरी प्रवद्र्धनात्मक गतिविधि अगाडि बढाइनुर्ने धारणा राखे ।

महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निमार्णलाई तीब्रता दिई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको चुस्त व्यवस्थापन तथा काठमाडौँ उपत्यकालाई सुन्दर र सफा नगरीको रुपमा विकास गर्नसके अधिक संख्यामा पर्यटक आकर्षण गर्न सकिने उनको भनाई थियो ।

रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले सरकारले लिएको आर्थिक समृद्धि र सुखी नेपालीको नारालाई सार्थक बनाउने दरिलो आधार नै पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धनका लागि सबै क्षेत्रको सहकार्य जरुरी भएको उल्लेख गरे ।

पत्रकार धमलाले पृथ्वीनारायण शाह एकीकरणका नायक भएको बताउँदै उनको सम्मानमा कुनै कमी गर्न नहुने धारणा राखे । उनले भने,‘पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक हुन् । शाहको सोचअनुसार मुलुक अघि बढाउनुपर्छ । उनी राजामात्रै होईन, दुरदर्शीनेता पनि हुन् । उनलाई राजसंस्थासँग जोडेर हेर्नुहुँदैन । पृथ्वीनारायण शाहले एकीकरण नगरेको नभए देश नै नरहनसक्थ्यो ।’

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन क्षेत्रलाई व्यवसायिक ढङ्गले प्रवद्र्धनात्मक गविविधिका साथै सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाई पर्यटन प्रवद्र्धनको अभियानलाई प्रभावकारी रुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार ऋषि धमलालाई गन्तव्य नेपाल पत्रकारिता अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, पत्रकारहरु विकास थपलिया र सिबी अधिकारीलाई सम्मान गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्