Logo

कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !



काठमाडौं, २७ पुस । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आज आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली गएनन् । उनका मन्त्रीहरुपनि कोही चियापानमा गएनन ।

प्रधानमन्त्री ओली चियापानमा आउनेमा राप्रपा अध्यक्ष कमल थापा भने विश्वस्त थिए । थापाले प्रधानमन्त्री आउने भनेर नै नेता तथा कार्यकर्ताहरुलाई ब्रिफ गरेका थिए । तर, अन्तिममा आएर प्रधानमन्त्रीले उनलाई निराश तुल्याए ।

कार्यक्रम अवधिभर अध्यक्ष थापाले प्रधानमन्त्रीलाई पर्खिएका थिए । चियापान दिउँसो १ बजेदेखि सुरु भएर ३ बजे समापन हुने भनेर थापाले अघिल्लो दिन नै रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा जानकारी दिएका थिए ।

सोही अनुसार थापाले दिउँसो ३ बजेसम्म पनि प्रधानमन्त्री ओलीलाई कुरेका थिए । तर, ओली नआएपछि उनले पत्रकारहरुसँग राष्ट्रिय एकता दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

मन्त्रीहरु पनि आजको राप्रपाको चियापानमा गएनन् । स्रोतका अनुसार ओलीले नै मन्त्रीहरुलाई आजको चियापानमा नजान निर्देशन दिएका थिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, खिलराज रेग्मी उपस्थित भएका थिए । त्यस्तै संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङपनि निकै बेर बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्