Logo

दाङका स्थानीय तहको वर्गीकरण



लमही, २९ पुस । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाङका १० स्थानीय तहलाई दुर्गम, सुगम र मध्यम स्तरमा वर्गीकरण गरेको छ । स्थानीय तहको वर्गीकरणअनुसार बङ्गलाचुली र राजपुर गाउँपालिका दुर्गममा परेका छन् भने घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका सुगममा परेका छन् । त्यस्तै लमही नगरपालिकासहित, दङ्गीशरण, शान्तिनगर, बबई, राप्ती र गढवा गाउँपालिका मध्यमस्तरमा रहेका छन् ।

सरकारले अति नै दुर्गमलाई ‘क’, दुर्गमलाई ‘ख’, मध्यमलाई ‘ग’ र सुगमलाई ‘घ’ वर्गमा विभाजन गरेको छ । सरकारले नेपालका ७५३ वटै स्थानीय तहलाई वर्गीकरण गरी सूची सार्वजनिक गरेको हो । मुलुक नयाँ संरचनामा गएपछि बनेका स्थानीय तहहरुको पहिलो पटक वर्गीकरण गरिएको हो ।

भौगोलिक अवस्था र सामाजिक आर्थिक विकासलगायतका आधारमा सरकारले स्थानीय तहलाई चार तहमा वर्गीकरण गरेको हो । यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार, विद्युत्को पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति समेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरिएको हो ।

मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो । वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्ति विकासमा समेत वस्तुगत बनाउन सजिलो हुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार देशभरका अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्