Logo

नेविसंघको नेतृत्व लिन निमा गिरी मैदानमा



काठमाडौं, ३० पुस । नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनको अध्यक्ष पदमा निमा गिरीले उम्मेदार दिने भएकी छन् । प्युठान स्थायी घर भएकी गिरी विगत ०५५ सालदेखि नेविसंको राजनीतिमा सक्रिय छन् । ११औं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदार बनेकी गिरी संघको १२औंं माहाधिवेशनको चर्चासँगै उनले आफु अध्यक्षको उम्मेदार बन्ने बताएकी छन् ।

रिपोर्टर्सनेपाल डकमसँगको कुराकानिमा गिरीले भनिन्,‘नेपाल विद्यार्थी संघको राजनीतिमा विगत लामो समयदेखि क्रियाशिल छु, अबको विद्यार्थी आन्दोलन मुख्य दुईवटा कुरामा परिवर्तन हुनसक्नुपर्छ, एउटा सामाजिक विद्यालयहरुको गुणस्तरका बारेमा स्पष्ट कार्यक्रम थालनी गर्नु र दोस्रो कुरा निजि विद्यालयका बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नु हो ।’

राजनीति शास्त्र, व्यबस्थापन र कानून विषयमा स्नातकोत्तर गरेकी गिरीले भनिन्,‘निजि विद्यालयमा हामी प्रेवश गर्दा विद्यार्थीहरुले आफ्नो अधिकारको लागि आएको हुन भन्दा पनि कुनै स्वार्थको लागि आएको हो भन्ने मनोत्रास देखाएको देखिन्छ भने सामुदायिक विद्यालयमा विद्यार्थी नेताहरु पुग्दा गुणस्तरको बारेमा वहस हुन नसकेको आरोप खेप्नु परेको छ, आगामी दिनहरुमा यस्ता प्रवृतिहरुको बिरुद्ध लड्ने र विद्यार्थीका हक अधिकारको बारेमा निरन्तर लाग्ने अभिप्रायकासाथ मैले नेवि संघको नेतृत्व लिन चाहेकी छु ।’

उम्मेदार घोषणाबाट ब्याक हुदिन

नेता गिरीले नेविसंघको नेतृत्व महाधिवेशनबाटै हुनुपर्ने बताएकी छन् । साथै उनले कुनैपनि हालतमा आफ्नो उम्मेदारी ब्याक नहुने धारणा राखेकी छन् । उनले भनिन्,‘म कुनै पनि गुटको माथि उठेर अबका दिनहरुमा नेविसंघलाई साच्चिकै नर्सरीको रुपमा विकास गर्ने ध्येयकासाथ लाग्नेछु, पार्टीको दबाब र कुनै पनि नेताको दबाबलाई मान्ने पक्षमा म छैन् ।‘

उनले अघि थपिन्,‘म नेविसंघको नेतृत्व लिन योग्य छु, पार्टीले मेरो बारेमा जानेको छ, यो बिचको समयमा नेविसंघले उठाउनु पर्ने विषय र सन्दर्भहरु बोकेर देशका ५५ जिल्लामा पुगेकी छु, यस क्रममा म प्रतिको उत्साह देखिएको पाएकी छु, नेविसंघको ईतिहासमै पहिलो पटक पार्टीलाई महिला अध्यक्ष बनाउने अवसर छ, त्यो अवसर पार्टीले भरसक उपभोग गरोस् भन्ने मेरो चाहना छ, जिल्लाका साथीहरुको अपेक्षा पनि सकारात्मक छ, योस्तो बेलामा पनि सच्चा नेविसंघका कार्यकर्ताहरुले सोच्न सकेनौं मौका गुमायौं भने सुन्दर ईतिहास रच्नबाट चुक्ने स्थिति हुन्छ।’

कांग्रेसका नेताहरुको आफ्नो नेतृत्व ऐतिहासिक बनाउनको लागि दिलदार भएर लाग्न सुझाव दिएकी छन् । उनले भनिन्,‘कांग्रेसका हरेक नेताहरुले विपिको नाम पुकार्नु हुन्छ, विपिको कार्यकाललाई मार्ग दर्शनको रुपमा लिनुपर्ने बताउनु हुन्छ, आदरणीय नेता द्धारिका देविलाई मन्त्री बनाएको दृष्टान्त पेस गर्नुहुन्छ, तर आफ्नो नेतृत्वमा फाराकिलो छाति बनाएर महिलाहरुले पनि गर्न सक्छन् अवसर प्रदान गर्नुपर्छ भन्ने सोचराख्नु हुँदैन, अब सोच्नु पर्यो, समय छदै ध्यान दिनुपर्यो ।’

आकांक्षि मध्यमा सिनियर

नेता गिरीले नेविसंघको १२औं कार्यकालको लागि बजारमा अध्यक्षको दाबि गरिरहेकाहरु मध्य आफू सिनियर भएको दाबि गरेकी छन् । उनले थपिन्,‘संगठनको आजभन्दा १२ वर्ष पहिले प्युठान उपाध्यक्ष, त्यस्तै केन्द्रीय क्याम्पस किर्तिपुरको उपाध्यक्ष भएर काम गरिसकेकी छु, त्यस्तै पार्टीको दुई पटक महासमिति सदस्य भएर काम गरेको अनुभव छ, त्यति मात्रै नभएर विभिन्न क्याम्पसहरुको ईकाईमा बसेर पनि आफ्नो अभिभारालाई पूरा गरेकी छु, नेतृत्व रहरले होईन, अनुभव र क्षमताको आधारमा लिनु पर्छ र पार्टीले सहजिकरण गरिदिनुपर्छ ।’

उनले अघि भनिन्,‘नेविसंघको नेतृत्व धेरै चोटी चुकेको छ, समयमै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नु पर्ने थियो, त्यो हुन सकेन, एकै चोटी अलि धेरै समय थपेर महाधिवेशन गर्नुपर्ने थियो, त्यो पनि गर्न सकेन, अब विगतलाई सम्झेर हुँदैन, भावि दिनहरुमा नेविसंघलाई कस्तो बनाउने ? कसरी यसलाई जिवन्त दिने ? कसरी अरुभन्दा राम्रो र हाम्रो विद्यार्थी संगठन बनाउने ? त्यसमा ध्यान दिनुपर्छ।’

एजेण्डाहरु

१.बिद्यार्थी राजनीति समुदायको हित र अधिकारसंगै सामाजिक चेतना,न्यायका निम्ति केन्द्रीत हुनुपर्दछ ।

२. शैक्षिक विषयहरु मुद्दाहरु बोक्नुपर्दछ ।

३. लोकतन्त्र, मानवअधिकार, महिला हिंसा आदि विषयहरुमा बोल्नुपर्दछ।

४. असल र उच्च राजनीतिक संस्कार भएकाले मात्रै समाज परिवर्तन गर्न सम्भव भएकाले योग्यतम र नैतिकवानलाई नेतृत्व दिनुपर्दछ ।

५. संघ संगठनका गतिबिधिहरु बिभेद रहित बनाउने । सामुदायिक विद्यालय र निजि विद्यालयबीचको दुरी कमगर्ने ।

६.पार्टी कार्यकर्ता भन्दा माथि उठेर जनहितमा बोल्नुपर्दछ । त्यसका लागि सरकार वा सत्ताको लाचार छायाँ होईन सचेतकको भुमिका निर्वाह गर्नुपर्दछ ।

७. विद्यार्थी संगठनहरु पारदििर्श, ईमान्दार, अनुसासित, नैतिकवान हुनुपर्छ भन्ने मुल्य स्थापित गर्ने ।



प्रतिक्रिया दिनुहोस्