Logo

मन्त्रीले सचिव कुटेपछि कर्मचारी आक्रोषित, लालबाबु पण्डितलाई भेटेर के भने ?



पुष ३०, काठमाण्डौ । कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कार्वाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन ।

प्रदेश दुईको सरकारले घटनाका विषयमा छानविन गर्न समिति भने गठन गरिसकेको छ । तर कर्मचारीका संगठनहरुले भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सम्बन्धित मन्त्रीलाई कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपीट गर्नेमाथि कडा कार्वाही गर्न माग गरेका छन् । आईतबार मन्त्री यादवले सचिव झाललाई आफ्नै कार्यकक्षमा बोलाएर कुट्नुभएको थियो ।

कर्मचारीको भावनामा आघात पुग्ने गरी सो घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रिय कार्य समितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कडा कार्वाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको बताउनु भयो ।

कर्मचारीहरुमाथि पटक–पटक दूव्र्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरुले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । यता, मन्त्री पण्डितले भने सो घटनामा गल्ती गर्नेमाथि कडा कार्वाही गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले सो घटनाका सम्बन्धमा छानवीन गर्न प्रदेश २ को सरकारले छानवीन समिति गठन गरेको उल्लेख गर्दै सो प्रतिवेदन आएपछि दोषीमाथि कडा कार्वाही गर्ने आश्वासन दिनुभएको छ । मन्त्री यादवले मन्त्री, कर्मचारी जो भएपनि सरकारले गल्ती गर्नेलाई बाँकि नराख्ने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री पण्डितले सो घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै घटनाबाट उत्तेजित नहुन पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो । प्रदेश २ का मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको घटनाप्रति सर्वसाधारणले पनि आपत्ति जनाउँदै आएका छन ।



प्रतिक्रिया दिनुहोस्