Logo

त्रिवेणीमा पन्ध्र दिने माघे सङ्क्रान्ति मेला



काठमाडौँ,१ माघ । आज माघे सङ्क्रान्ती पर्व शुरुसँगै उदयपुरको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा १५ दिने माघे सङ्क्रान्ती मेला शुरु भएको छ ।

परम्परागत रुपमा लामो समयदेखि प्रत्यक वर्ष माघ १ देखि १५ दिनसम्म कमलाको त्रिवेणी धाममा माघे सङ्क्रान्ती मेला सञ्चालन हुने गरेको आयोजक कटारी उद्योग वाणिज्य सङ्घ अध्यक्ष पुस्कर खड्काले बताउनुभयो । मेला शुरुसँगै बिहानको ३ बजेदेखि त्रिवेणी धाममा मकर नुहाउने तथा पूजाआरधना गर्न ठूलो सङ्ख्यामा भक्तजन आउने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रव श्रेष्ठले बताउनुभयो ।

धाममा देशका विभिन्न भाग र विदेशबाट ठूलो सङ्ख्यामा भक्तजन आउने हुनाले आजै बिहानदेखि त्रिवेणीमा नेपाल प्रहरी र सशस्त्र प्रहरसुरक्षाको लागि परिचालन गरिएको छ ।

त्रिवेणी महत्वपूर्ण धाम भएकाले काठमाडौँ, धनुषा, महोत्तरी, सुनसरी मोरङ, झापा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, सोलु, रामेछाप सिन्धुलीसहित विभिन्न भागबाट भक्तजन नुहाउन आउने कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउनुहुन्छ । भारतको बिहार र पश्चिम बङ्गालको दार्जिलिङ, सिक्किम, कालिम्पोङ, अलगडा, पेदुङ क्षेत्रबाट आउने सङ्घका अध्यक्ष खड्कले बताउनुभयो ।

कमला नदीमा उदयपुरकै ककरु र तावा खोला मिसिएर त्रिवेणी धाम बनेको र प्रसिद्ध कमलेश्वर महादेवको मन्दिर तथा लक्ष्मी र गणेशसहित कमला माइको दर्शन तथा पूजा र आराधना हुने गरेको स्थानीयवासी गणेश धमलाले बताउनुभयो । मकर नुहाउनाले शरीरको चर्मरोग निको हुने र मनले चिताएको पूरा हुने हुनाले हिन्दू मात्र नभएर बुद्ध र इस्लामसहित अन्य धर्मावलम्बी त्रिवेणी नुहाउने गरेको कटारीका विष्णुप्रसाद दाहाल बताउनुहुन्छ ।रासस



प्रतिक्रिया दिनुहोस्