Logo

बाबुरामको आरोप : वाइडबडी खरिद अनियमितामा ठूला नेताको संलग्नता छ



काठमाडौं, २ माघ । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वाइडबडी जहा खरिद प्रक्रियामा मुख्य दलका ठूला नेता संलग्न रहेको दाबी गरेका छन् ।

बुधबार पार्टीको संसदीय मामिला तथा राज्य व्यवस्था विभाग र नेपाल पर्यटन परिषदले वाइडबडी विमान प्रकरणबारे गरिएको अन्तरक्रियामा बोल्दै डा. भट्टराईले यस्तो आरोप लगाएका हुन् । उनले ठूला दलका नेताहरु मिलेर नै विमान खरिद प्रक्रियामा अनियमिता गरेको आरोप लगाए ।

उनले भने,‘हामीले बैंकमा ऋण लिन जाँदा त कम्पनी कति पुरानो छ भनेर हेर्छ भने १ डलरमा स्थापना भएको बिचौलिया कम्पनीमार्फत अर्बौँ अर्ब २५ अर्ब रुपैयाको कारोबार गर्न मिल्छ ? सिधै खरिद गर्नका लागि एयर बसले बेच्छ भने बीचमा अर्को कम्पनी किन चाहियो ? बिचौलिया कम्पनी खरिद गर्नु, नयाँ जहाज किन्न प्रावधान मिच्नु भनेकै त्यो भ्रष्टाचार हो । त्यसमा कति पनि दुविधा छदै छैन ।’

भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच यो प्रकरणलाई ढाकछोप गर्न बालुवाटारमा सहमतिसमेत भएको आरोप लगाए ।

कार्यक्रममा सार्वजनिक लेखा समिति अन्र्तगर्तको छानविन उपसमितिका सदस्य एवम् संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले लेखा समितिले नै बदमासी गरेर प्रतिबेदन फेरबदल गरेको आरोप लगाए ।

सांसद यादवले डा.भट्टराईले वाइडबडी विमान प्रकरण विरुद्ध गर्न लागेको काममा साथ दिने उल्लेख समेत गरे ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्