Logo

केपी ओली नाङ्गै हुँदा पनि कपडा लगाउन सिकाउने कोही भएनन् : गगन थापा (भिडियो)



माघ ४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीको जायज माग पूरा गराउन सरकारसँग माग गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा केसीसँग भएका सम्झौता हुबहु समावेश गर्नुपर्ने बताएका हुन् ।

केसीका कतिपय माग सम्बोधन हुने अवस्था भए पनि मुख्य माग नै विधेयकमा समावेश नगरिएको थापाले बताए ।

केसी कुनै दलको कार्यकर्ता नभएको जिकिर गर्दै थापाले निःस्वार्थ रुपमा चिकित्सा शिक्षा क्षेत्रको सुधारको अवाज उठाउँदा सत्तारुढ दलले अनावश्यक तर्क गर्न थालेको आरोप लगाए ।

प्रधानमन्त्री केपी ओलीले नै केसीसँग भएका सम्झौता उल्ट्याएर केसीलाई अनसन बस्न बाध्य बनाएको थापाको जिकिर छ ।

यद्यपी ओलीले अझै पनि केसीको माग पूरा गराउन सक्ने भएकाले त्यसलाई मनन गर्न थापाले आग्रह गरे ।

“अझै पनि प्रधानमन्त्री ओलीले चाहनुभयो भने एक मिनेटमै समस्या समाधान हुन्छ ।” थापाले भने ।

प्रधानमन्त्री ओली नाङ्गै हुँदासमेत सल्लाहाकारहरुले कपडा लगाउने सल्लाह दिन नसकेको थापाको तर्क छ ।

थापालाई केसीले चुनावमा सहयोग गरेको भन्दै नेकपाका नेताहरुले केसीलाई कांग्रेसको पक्षमा लागेको आरोप लगाइरहँदा थापाले चुनावमा आफ्ना लागि भोट मागेर केसीले अपराध नगरेको तर्क गरे ।

वाइडबडी प्रकरणमा पार्टी सभापति शेरबहादुर मुछिएको सन्दर्भमा थापाले छानविनपछि दोषी देखिए कारबाही हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्