Logo

मेक्सिकोः पाइप पड्केर मृत्यु हुनेको संख्या ७३ पुग्यो



काठमाडौँ,६ माघ । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ७३ पुगेको छ ।घाइते भएर अस्पतालमा उपचार गराइरहेकामध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।

घाइते हुनेको संख्या अझै पनि ७४ रहेको छ भने तीमध्ये ५० जनाको हिडाल्गोमा रहेको अस्पतालमा र अरु २४ जनाको मेक्सिको सिटीको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा तेल पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल निकाल्ने क्रममा भएको विस्फोटमा परी स्थानीयबासीको मृत्यु भएको हो ।

श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहोराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समय आगलागी हुँदा पाइप विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । “सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नुको विकल्प रहँदैन ।”

स्थानीय सरकारी अधिकारीहरुका अनुसार पाइपलाइन विस्फोट भएका बेला छ सयदेखि आठ सयसम्म स्थानीय बासिन्दा भेला भएका थिए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्