Logo

केसीले उठाएका ९९ प्रतिशत माग पूरा भैसके : पूर्वमन्त्री डा. मिश्र



काठमाडौं, ६ माघ । सत्तारुढ दल नेकपाका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री डा. वंशिधर मिश्रले डाक्टर गोविन्द केसीले उठाएका ९९ प्रतिशत माग पूरा भैसकेको दाबी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उनले भने,‘उहाँले दिपावली मनाउनुपर्दथ्यो, तर अनशन बस्नुभएको छ । मनमोहन मेडिकल कलेज अब काठमाडौंमा खुल्दैन । उहाँको मुख्य माग नै त्यही थियो । त्यो अहिले पूरा भएको छ।’

मिश्रले डा केसीका कारण नेपालमा गुणस्तरीय मेडिकल कलेज खुल्ने वातावरण नहुँदा बङ्गलादेशमा कालोसूचीमा रहेका मेडिकल कलेजमा पढ्न विद्यार्थी बाध्य भएको बताए ।

डा. केसीले आफूहरुलाई नैतिकताको पाठ सिकाउन नमिल्ने पनि उनले जिकिर गरे । उनले थपे,‘उहाँले नैतिकताको पाठ सिकाउनुभन्दापनि पहिले आँफैले सिक्नुपर्छ । उहाँ सरकारी कर्मचारी भएरपनि राजनीति गरिरहनुभएको छ । प्राध्यापक पद नछोड्ने अनि पढाउन पनि नजाने ? नैतिकता त उहाँले सिक्नुपर्छ ? अनि अपरेशनपनि नगर्ने ?’

राजनीति नै गर्न मन भए डा. केसीले राजिनामा दिएर खुल्ला राजनीतिमा आउन पनि उनले चेतावनी दिए । डाक्टर केसीसँग भएको सम्झौता पालना गर्छु भनेर सरकारले नभनेको बरु विद्येयक पास गराउन पहल गर्छु भनेर लेखिएको पनि उनले स्पष्ट पारे ।

उनले भने,‘सरकारले विद्येयक पास गर्छु भनेर सम्झौता लेखिएको छैन । बरु, विद्येयक पास गराउन पहल गर्छु भनेको छ । म सम्झौतापत्र हेर्न आग्रह गर्छु ।’

मिश्रले गोविन्द केसीको ज्यान बचाउन उनकै समर्थकहरुले नचाहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘उहाँहरुमा लचकता छैन । सरकारले हेलिकप्टरमार्फत उहाँलाई काठमाडौं ल्याएर उपचार गरिरहेको छ । अहिले आईसियुमा उपचार भैरहेको छ।’ उनले डा. केसीलाई अपराधीको संज्ञासमेत दिए ।

फरक प्रसँगमा उनले डाक्टर केसीको विरुद्धमा अनशन बस्ने विजय थापालाई आफूले नचिनेको पनि स्पष्ट पारे । उनले भने,‘उहाँ पनि अनशन बस्नुभएको छ भन्ने कुरा मिडियामार्फत सुनेको छु, तर म चिन्दिन् । उहाँका माग पनि सुनाई हुनुपर्छ ।’

डाक्टर केसीको माग सबैभन्दा बढि ओली सरकारले नै पूरा गरेको उनको दाबी छ । उनले मुलुकलाई अनशन रोगबाट बचाउनुपर्नेपनि बताए ।



प्रतिक्रिया दिनुहोस्