Logo

‘धनगढी स्टार्स’लाई ग्लोबल कलेजको साथ



काठमाडौँ, ७ माघ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले मुख्य प्रायोजन गरेको छ । धनगढी स्टार्सले आज आयोजना गरेको कार्यक्रममा ग्लोबल कलेजसँग प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कलेजका प्रमुख कार्यकारी खगेन्द्र ओझा र क्लबका प्रमुख कृष्ण बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सम्झौताअनुसार कलेजले स्टार्सलाई एक वर्षका लागि रु २० लाख नगद उपलब्ध गराउनेछ ।

यस्तै कार्यक्रममा प्रतियोगितामा खेल्ने टोलीको जर्सीसमेत सार्वजनिक गरियो । प्रतियोगितामा धनगढीका खेलाडीले ग्लोबल कलेज अङ्कित जर्सी लगाउनेछन् । डिपिएल आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ । देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किङ्ग्सले प्रतिस्पर्धा गर्नेछन् ।

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । सोमपाल कामीको कप्तानीमा रहेको स्टार्समा सौरभ खनाल, अमित श्रेष्ठ, हरिबहादुर चौहान, विपिन खत्री, दीपेश श्रेष्ठ, राजु रिजाल, रविन क्षेत्री, पवन सर्राफ, सन्दीप रजाली, धीरज शाहीलगायत खेलाडी रहेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्