Logo

रोनाल्डो एक करोड ८८ लाख युरो जरिवाना तिर्न तयार तर जेल जान मानेनन्



काठमाडौँ।९ माघ । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख युरो जरिवाना तिर्न मड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन्।

मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय पनि उल्लेख छ।तर स्पेनमा सामान्यतया दुई वर्षभन्दा कम जेलसजाय पाउनेहरू जेल जानुपर्दैन।

अहिंस्रक प्रकृतिको मुद्दा भएकोले सम्झौता अनुरूप रोनाल्डो जेल बस्नुपर्ने सम्भावना देखिँदैन।सम्झौतामा सहमत भएपछि केही मिनेटभन्दा बढी अदालतमा उनी बस्नुपरेन।

यसअघि भिडिओमार्फत् अदालतमा उपस्थिति जनाउन वा कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन रोनाल्डोले गरेको आग्रह एक न्यायाधीशले अस्वीकार गरिदिएका थिए।अघिल्लो रात मात्रै इटलीको एउटा क्लबका लागि खेलेका रोनाल्डो मुस्कुराउँदै अदालत प्रवेश गरेका थिए।त्यसअघि उनी सञ्चारमाध्यमहरूको नजरबाट जोगिनलाई भन्दै कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन आग्रह गरेका थिए।

रोनाल्डोका वकिलहरूले सुरक्षाका कारण प्रमुख प्रवेशद्वाराबाट उनले प्रवेश गर्न नचाहेको तर्क गरेका थिए।

एकजना पत्रकारले पोस्ट गरेको भिडियोमा रोनाल्डो बिहेको टुङ्गो लागेको आफ्नी साथी जर्जिना रोड्रिग्रेजसँगै अदालत पुगेको देखिएको थियो।पाँच पटकसम्म युरोपको बालन डोुरु अर्थात् सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन्।

यी स्टार खेलाडीले सन् २०११ देखि २०१४ सम्म रियल मड्रिड फुटबल क्लबका लागि खेल्दा कर छलेको उनीमाथि आरोप छ।करछलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको आरोप छ।

रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन् २०१७ मा बाहिर आएको थियो। त्यतिबेला अभियोजनकर्ताहरूले उनीबाट ुजानाजानु करछली भएको बताएका थिए।तर रोनाल्डोका वकिलहरूले नियतवश कर छलेको नभइ स्पेनी कानून बारेको असमझदारीका कारण त्यस्तो हुन गएको बताउने गरेका छन्।स्पेनमा करछलीको आरोप खेप्ने चर्चित व्यक्तिमा रोनाल्डो मात्रै पर्दैनन्।

रियल मड्रिडको उनका पूर्वसहकर्मी शाबी ओलन्सो पनि करछलीसम्बन्धी मुद्दामा मङ्गलवार नै पहिलो पटक अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।त्यसअघि करछलीको अभियोग प्रमाणित भएपछि कर र जरिवाना तिरेर बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सी जेल जानबाट जोगिएका थिए।

कर छलेको आरोपमा बार्सिलोना क्लबलाई लाखौँ युरो जरिवाना तिर्न लगाइँदा सो प्रकरणमो केन्द्रमा ब्राजीलका खेलाडी नेयमार थिए।रियल मड्रिडका मार्सिलो भिएराले आफूले कर छलेको स्वीकार्दै चार महिनाका लागि जेलसजाय स्वीकारेका थिए।

स्पेनमा सन् २०१० मा करछलीमा उन्मुक्ति दिनेसम्बन्धी व्यवस्था हटेपछि ठूला खेलाडीहरूमाथि ती मुद्दा चलेका हुन्।रोनाल्डोले अर्को मुद्दा पनि झेलिरहेका छन्। सन् २००९ मा बलात्कार गरेको उनीमाथि आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन्।रासस



प्रतिक्रिया दिनुहोस्