Logo

विधेयक पारित भएरै छाड्छ, कांग्रेसले रोक्न सक्दैन : गिरिराजमणि पोखरेल(भिडियोसहित)



दिवंगत नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध गर्यो । कांग्रेस सांसदहरु रोष्टममा जान खोज्दा मर्यादापालकहरुले बीचमा नै रोक्ने प्रयास गरे । पहिलो बैठक १५ मिनेटका लागि स्थगित भयो । दोस्रो बैठक सुरु नहुँदै कांग्रेसका सांसदहरु रोष्टम घेराउ गरेर शिक्षामन्त्रीलाई रोक्ने प्रयास गरे । नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे । तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई घेरेर रोष्टममा जान दिएनन् । संसदको रस्साकस्सी र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका विषयमा मन्त्री पोखरेलसँग ऋषि धमलालो कुराकानी गरेका छन् ।

गिरिराजमणि पोखरेल

सरकार र प्रतिपक्षी दलबीचको विवाद बढ्यो । अब चिकित्सा शिक्षा विधेयक कसरी पास गर्नुहुन्छ ?
यो विधेयक प्रतिनिधीसभा पास गरेर मात्रै हुँदैन । राष्ट्रियसभामा पनि लानुपर्छ । संसदले कामलाई अगाडि अगाडि बढाइसकेको छ । प्रतिपक्षले सरकारले बहुमतका आधारमा ल्याएको विधेयकलाई पास हुन दिन्न भन्नु प्रजातान्त्रिक हुँदैन । हामीले अभ्यास गरेको पद्धति यही हो र ? प्रजातान्त्रिक पद्धतिको पक्षधर भन्ने कांग्रेसले संसद अवरोध गर्ने हिजोको जस्तो व्यवहार नियमसँगत पनि छैन ।

गोविन्द केसीसँग भएका सम्झौता अनुसार किन विधेयकमा ल्याइएन ?
यो लामोसम्म छलफल गरेर ल्याइएको सुविचारित विधेयक हो । केसीले भनेभन्दा अझै राम्रो विधेयक ल्याइएको छ । कांग्रेससँग एजेण्डा नै नभएर निहुँ खोजेको हो ।

प्रधानमन्त्री केपी ओली स्वदेश फर्कनुअघि विधेयक पारित हुन्छ त ?
प्रधानमन्त्री आउनु र नआउनुमा विधेयक जोड्न आवश्यक छैन । प्रधानमन्त्रीले कुन हदसम्म गर्न सक्छ र संसदको सिमा के हो भन्ने कुरा प्रतिपक्षलाई स्पष्ट पारिसक्नुभएको छ । हामी संसदीय प्रक्रियाबाट पछि हट्दैनौँ । विधेयक पारित हुन्छ ।

कांग्रेसका नेताको नाममा स्थापित बाँके र तनहुँका अस्पताललाई किन केन्द्रबाट अलग्याउन खोजियो ?
कांग्रेसको यो मागप्रति सरकार सकारात्मक छ । हामीले गिरिजा र सुशीलको नाममा खोलिएको अस्पतालको अवमूल्यन गरिएको छैन । कांग्रेसका नेताका नाममा अस्पताल हुँदैमा राम्रो हुने होइन । पूर्वाधारको पनि महत्व हुन्छ । अस्पताललाई अझै कसरी राम्रो र प्रभावकारी बनाउन सकिन्छ भन्नेमा सरकारको चासो छ । तिललाई पहाड बनाउन जरुरी छैन ।



प्रतिक्रिया दिनुहोस्