Logo

सभामुख निरीह भएको कांग्रेसको आरोप



काठमाडौं ११ माघ । सभामुख कृष्णबहादुर महराले स्थापित संसदीय परम्परा र मर्यादा अनुरुप काम गर्न नसकेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ। संसदीय अभ्यासमा सभामुख सत्तासामु निरिह भएको कांग्रेसको ठहर छ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले यस्तो ठहर गरेको हो। मंगलबारको संसद बैठकमा सत्तापक्षीय सांसदले प्रतिपक्षी सांसदलाई मर्यादापालककै शैलीमा धकेलाधकेर गर्दासमेत सभामुख निरिह बनेको उसको आरोप छ।

‘२०७५ माघ ८ गतेको प्रतिनिधि सभाको बैठकमा अमर्यादित रुपमा संसदमा मर्यादापालकको प्रयोग हुनु र सत्तापक्षका सांसद नै मर्यादापालक झै प्रतिपक्षमाथि खनिनु, महिला सांसदलाई रोक्न पुरुष मर्यादापालक प्रयोग गरिनु र जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन लाग्दा समेत सम्माननीय सभामुखले हाम्रा स्थापित संसदीय परम्परा र मर्यादा अनुरुप सहमतिबाट निकास खोज्न सक्नु भएन। संसदीय अभ्यासमा सभामुख सत्ता सामु निरिह हुन सक्दैन। तर, त्यही देखियो’, बैठकपछि कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘निष्पक्षता र निर्भिकताबाट मात्रै संसदीय मर्यादा कायम रहन्छ, स्थापित नजिर र परम्परा जोगिन्छन्, लोकतन्त्रिक अभ्यास पुष्ट हुन्छ।’

कांग्रेस बैठकले जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ (केन्द्र) अन्तर्गत राखेर भविष्य सुरक्षित गर्न सरकारलाई सचेत समेत गराएको छ।

सरकारले गैरजिम्मेवार र पूर्वाग्रहपूर्ण तवरले जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी –५, वेलचौतारा, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँकेलाई मात्र हटाएर बाँकी नौ वटालाई संघ अन्तर्गत रहने गरी निर्णय गरेकोप्रति आपत्ति जनाएको हो।

श्वासप्रश्वास जस्तो गम्भीर स्वास्थ्य समस्याको उपचारमा गण्डकी प्रदेशमा क्रियाशील जी.पी. कोइराला र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले विघटनको संघारमा पुर्‍याएको कांग्रेसको आरोप छ। राजनीतिक पूर्वाग्रहबाट प्रेरित जनस्वास्थ्य विरोधी सरकारको यो कार्यप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घोर आपत्ति प्रकट गरेको हो। सरकारलाई आफ्नो गलत एवं पूर्वाग्रही निर्णय तत्काल सच्याउन कांग्रेसले आग्रहसमेत गरेको छ।  अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्