Logo

नेपाल–भारतजस्तो प्रगाढ सम्बन्ध, विश्वको कुनैपनि दुई देशबीच छैन् : भारतीय राजदुत पुरी



काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भने,‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो । द्धिपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत पुरीले भने,‘भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अरु कुनैपनि दुई देशबीच यस्तो सम्बन्ध छैन, जुन हामीबीच प्रगाढ छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै राजदुत पुरीले दुई देशबीच जनस्तरमै अत्यन्तै सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा यसलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘हामीबीच रोटी–बेटीको सम्बन्ध छ । यहाँहरुमध्ये सायद कोही पनि यस्तो व्यक्ति हुनुहुन्न होला, जसले बलिउडको फिल्म नहेर्नुभएको होला । मेरो विचारमा सबैले हेर्नुभएको छ । अहिले त हामीबीच क्रिकेटले पनि सम्बन्ध सुमधुर बनाएको छ । नेपालका उदाउँदा युवा क्रिकेटर सन्दिप लामिछाने भारतको आईपिएलमा जमेका छन् ।’

त्यस्तै उनले भारतका विभिन्न च्यानलहरुबाट प्रशारण भैरहेका सिरियल पनि नेपालमा सबैले हेरिरहेको सुनाउँदै यसलेपनि नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध प्रगाढ रहेको देखाउने विश्वास दिलाए ।

दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउनको लागि अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । उनले वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको ‘ईन्ट्रिगे्रटेड चेक पोष्ट’ ले वस्तु तथा सामाग्री आदान–प्रदानमा ठूलो सहयोग पुगेको विश्वास दिलाए । आगामी दिनमा यस्तै चेक पोष्ट नेपालगञ्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा पनि सञ्चालनमा ल्याउने राजदुत पुरीले विश्वास दिलाए ।

त्यस्तै उनले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रुपमा सञ्चालनमा आएको सुनाए । काठमाडौं–दिल्लीमात्रै नभएर अहिले काठमाडौं–बोद्यगया, जनकपुर–अयोध्या, जनकपुर–पट्ना, नेपालगञ्ज–लखनउलगायतमा सिधा बस सेवा सञ्चालनमा रहेको सुनाउँदै अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेको पनि उनले सुनाए । पुरीले भने,‘अहिले त बसको टिकट पनि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ ।’

नेपाल–भारत द्धिपक्षीय सम्बन्धको केन्द्रविन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेकोले आफूहरुले यसप्रति निकै महत्व दिँदै आएको पनि उनले सुनाए । राजदुत पुरीले आगामी फेब्रुअरीको अन्तिमबाट सुरु भएर मार्चभरि नेपालको काठमाडौं र अन्य शहरहरुमा ठूलो सांस्कृतिक महोत्सव आयोजना लागिएको पनि जानकारी गराए ।

उनले भने,‘उक्त कार्यक्रमको विस्तृत जानकारी हामी छिट्टै तपाईहरुलाई गराउँछौं । कार्यक्रममा भारतका प्रसिद्ध कलाकारहरुको उपस्थिति रहनेछ । भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रमकको बारेमा तपाईहरुलाई जानकारी गराउन पाएकोमा म खुशी छु ।’ उक्त सांस्कृतिक कार्यक्रममा भारतको प्रसिद्ध कल्चरल डान्स कथकल्ली, मृधंगम् र मैथली हुने पनि उनले जनाए । उक्त कार्यक्रममा सहभागी हुन नेपालीहरु उत्सुक रहेको आफूले विश्वास लिएको पनि राजदुत पुरीले विश्वास लिए ।

यो वर्ष आफूहरुले महात्मा गान्धीको १५० औं जन्मजयन्ती भव्य रुपमा मनाईरहेको सुनाउँदै नेपालमा पनि भव्य कार्यक्रमहरु आयोजना भैरहेकोमा उनले धन्यवाद ज्ञापन गरेका थिए ।

फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कहिले बुझ्नुहुन्छ भनेर सोधेको प्रश्नमा उनले आफू यसको सदस्य नभएकोले यसबारेमा कुनै प्रतिक्रिया नदिने स्पष्ट पारे । उनले भने,‘म ईपिजीमा आवद्ध छैन । यो आँफैमा अटोनमस बडी हो । नेपालबाट डा. भेषबहादुर थापाले ईपिजीको नेतृत्व गर्नुभएको छ । म यसको जवाफ दिन सक्दिन् ।’



प्रतिक्रिया दिनुहोस्