Logo

नेपाल–भारत मिलेर जानसक्ने सम्भावना र मौका मिलेको छ, यसको सदुपयोग गर्नुपर्छ : डा.लोहनी



काठमाडौं, ११ माघ । एकीृकत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदयीमान अर्थतन्त्रको रुपमा उदाएको बताउँदै आगामी २५ देखि ३० वर्षभित्र संसारकै ठूलो अर्थतन्त्र बन्ने बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘२१ औं शताब्दी एशियाको हो भनिएको छ, आगामी २५ देखि ३० वर्षभित्र भारत यसको प्रमुख अंग बन्छ।’

उनले नेपाल–भारतबीच ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई आर्थिक रुपमा प्रगाढ बनाएर लैजानुपर्नेमा जोड दिए । उनले भने,‘दुवै देशले एक–अर्काको समस्यालाई संवेदनशील भएर अघि बढ्नुपर्छ ।’

अहिले दुई देश मिलेर जानसक्ने सम्भावना र मौका मिलेको पनि सुनाए । उनले भने,‘सांस्कृतिक, आर्थिक, सुरक्षा र राजनीतिक सम्बन्ध यी पाटाबाट सम्बन्ध मजबुद बनाउनुपर्छ । हामीबीच राजनीतिक रुपमा कुनै समस्या छैन् । यसलाई निरन्तरता दिनुपर्छ ।’

नेपालको परनिर्भरता धेरै भएकोले व्यापार घाटा धेरै रहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘भारतसँग रहेको नेपालको व्यापार घाटा घटाउनको लागि भारतले पनि सहयोग गर्नुपर्छ ।’

उनले पछिल्लो समय नेपाल–भारत उर्जा सचिवबीच वार्ता भएको र ईनर्जी ब्यांकिङको अवधारणा आएको सुनाउँदै यो राम्रो पक्ष भएको पनि प्रतिक्रिया दिए । उनले भने,‘यो सकारात्मक कुरा हो । यसलाई तार्किक निश्कर्षमा पुर्याउनुपर्छ ।’

भारतीयहरु खासगरेर भारतीय राजनीतिज्ञहरु नेपालको कुराहरु तत्काल रेस्पोण्ड गर्न तयार रहेको आफूले पाएको सुनाउँदै लोहनीले आर्थिक रुपमा एक–अर्काले मद्दत गर्नुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्