Logo

कांग्रेसलाई माधव नेपालको जवाफ : विधि प्रक्रियाअनुसार विधेयक पारित



कास्की, १२ माघ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधिर प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले विरोध जनाएकामा उहाँले विधिसम्मत प्रक्रियाको पालना सबैले गर्नुपर्दछ भन्नुभयो ।

नेता नेपालले भन्नुभयो, “केही नमिलेका विषय छन्, भने छलफल गरौँ, मिलाऔँ । अहिल्यै हतास हुनुपर्ने अवस्था छैन । चरणबद्ध आन्दोलनको बाटोमा नलागौँ ।” सरकारले आफ्ना सोच तथा योजनालाई, साकार पार्न राष्ट्रिय तथा बाह्य पूँजीलाई आमन्त्रण गरेर उत्पादनको क्षेत्रमा लगानी गर्दै जनतालाई सुखी बनाउनुपर्ने र त्यसमा प्रतिपक्षको पनि रचनात्मक भूमिका हुनुपर्ने उहाँको भनाइ थियो ।

आफ्नो पार्टीको तल्लो तहसम्मको एकीकरण प्रक्रियामा ढिलाइ हुँदा कठिनाइ भएको पनि उल्लेख गर्दै नेता नेपालले भन्नुभयो, “निश्चित मापदण्ड, विधि र प्रक्रियानुसार एकता गरिनुपर्दछ । नभए सामूहिक नेतृत्वमा चल्ने कम्युनिष्ट पार्टीमा अराजकता हुन्छ ।”

पार्टी सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सा विद्येयक पारितभएसँगै चिकित्सा क्षेत्रमा सुधार हुने बताउनुभयो ।

अनशनरत डा गोविन्द केसीले पनि राजनीतिक विषय नजोडिकन शिक्षा विधेयकको कार्यान्वयनमा लाग्नुपर्ने उहाँको भनाइ थियो । पार्टी एकता र वर्तमान केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनुपर्नेमा आफूहरूमा एकमत रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्