Logo

शहीद धर्मभक्त माथेमाको सम्झना



काठमाडौँ, १३ माघ। शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ ।

काठमाडौँ महानगरपलिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमको आज दोस्रो दिन माधेमाको सम्झना गरेको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विधिको शासनले शहीदको सपना पूरा हुने बताउँदै शहीदको सपना पूरा गर्न समृद्धि र स्वाधिनताका लागि काम हुनु पर्नेमा जोड दिनुभयो ।

सभामा महानगरको वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले पदीय दायित्व बमोजिमको जिम्मेवारीले मात्र शहीदको सपना पूरा हुने बताउनुभयो । अहिले प्राप्त भएको राजनीतिक उपलब्धिमा धर्मभक्तको योगदान शब्दमा कम हुने सभामा सहभागीको भनाइ थियो ।

विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उहाँलाई मारिएको थियोे । विसं १९६६ आश्विन १ गते काठमाडौँको ओमबहालमा जन्मनुभएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई मृत्मुदण्ड दिइएको थियो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते, गङ्गालाल श्रेष्ठ एवं दशरथचन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।(रासस)



प्रतिक्रिया दिनुहोस्