Logo

सरकारका विरुद्ध नेपालगञ्जका विद्यार्थीहरु सडकमा उत्रिए



नेपालगञ्ज, माघ १४ । नेपाल विद्यार्थी संघको संयाजनमा आज नेपालगञ्जमा सरकारका विरुद्ध खबरदारी सभा गरिएको छ । विपी चोकमा गरिएको खबरदारी सभामा बोल्ने बक्ताहरुले सरकार दुई तिहाईको दम्भ पालेर अधिनायकबादी शैलीमा अघि बढेको भन्दै रोष प्रकट गरेका थिए ।

उनीहरुले सरकारलाई आफ्नो गल्ती सच्याउन चेतावनी दिएका छन् । सार्वभौम सदनलाई समेत सरकारले पेवा सम्झँदै आफ्नो अनुकूल बनाएको आरोप लगाउँदै बक्ताहरुले सरकारको स्वेच्छाचारी शैलीका विरुद्ध कांग्रेस र यसका भ्रातृ संगठन सडकमा उत्रेको बताए ।

खबरदारी सभामा बोल्दै कांग्रेस सभापति किरण कोइरालाले सरकारको ज्यादति विरुद्ध कांग्रेस सडकमा आउन बाध्य भएको बताउनुभयो । जनविरोधी कार्य गर्ने र प्रतिपक्षीलाई सदनमा समेत निषेध गर्ने सरकारको शैली अराजक र अधिनायकबादी भएको उहाँले टिप्पणी गर्नुभयो ।

‘जब कांग्रेस सडकमा आउँछ, गलत काम गर्ने सरकार ढल्छ, सभापति कोइरालाले भन्नुभयो, “विवेक गुमाएको र पलेर जाने सरकारलाई हामी पनि हाम्रो तागत देखाउँछौं ।” सभामा सचिव तप्त पौडेल, नेता कृष्ण कार्की, सुदिप नरसिंह राणा, विद्यार्थी नेता आशिष बर्मा लगायतले बोल्नुभएको थियो । नेपाली विद्यार्थी संघको केन्द्रिय परिपत्र अनुसार गरिएको खबरदारी सभा नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।

माघ ११ गतेको सदनको बलजफ्ती घटना, डा. गोविन्द केसीको मागप्रति सरकारको संवेदनहिनता, पार्टीका पूर्व सभापतिद्वय एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल संघ मातहत नराखी विघटनको मनसाय राखेको, महँगी र भ्रष्टाचार बढेको, हत्या, हिंसा र बलात्कारका घटनाको नियन्त्रणमा पनि असफल भएको लगायतका आरोप लगाउँदै कांग्रेस र यसका भ्रातृ संगठन केही दिन यता निरन्तर सडक आन्दोलनमा छन् ।



प्रतिक्रिया दिनुहोस्