Logo

एकैदिन निगमका १० जहाज ग्राउन्डेड



काठमाडौं १६ माघ ।  नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना/मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् ।

स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ‘ग्राउन्डेड’ भएको सम्भवत: पहिलो पटक हो । ‘यत्रो संख्यामा विमान ग्राउन्डेड भएको यसअघि कहिल्यै सुनिएको थिएन,’ निगमका एक पुराना प्राविधिकले भने । २२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा मात्रै गर्‍यो । निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौं–दाङ–काठमाडौं उडान गरेको हो ।

अर्को चिनियाँ वाई१२ई विमान क्याप्टेन बिरामी बिदामा भएकाले उडेन । अरू ७ वटा विमान मर्मत गर्नुपर्ने अवस्थामा थिए । निगमको आन्तरिक उडान सञ्चालन विभागद्वारा मंगलबारका लागि जारी गरिएको उडान तालिकामा दुर्गमका लागि उड्ने तीनवटा टिवनअटर, सुगम रुटमा उडान गर्ने दुईटा एमए–६० र दुईटा वाई१२ई ग्राउन्डेड भएको उल्लेख छ । निगमले नेपालगन्ज र विराटनगरमा पनि जहाज राखेर दुर्गम पहाडी जिल्लामा उडान गर्छ । तर मंगलबार ती दुई क्षेत्रीय हब विमानस्थलमा निगमका कुनै जहाज थिएनन् ।

निगमले काठमाडौंबाट ६ वटा मुलुकका ८ वटा सहरमा ५ वटा विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्छ । मंगलबार दुइटा वाइडबडी र एउटा न्यारोबडी विमानबाट ५ वटा सेक्टरमा उडान हुने तालिका राखिएको थियो । ‘एउटा बोइङ र एउटा एयरबस ३२० ग्राउन्डेड भएकाले दिल्लीका लागि बेलुकी हुने उडानमध्ये ३ वटा कटौती गरिएको छ,’ निगमका एक पाइलटले भने । निगमसँग रहेको एक मात्र बोइङ ककपिटमा विन्डसिल्ड (हावा रोक्ने भित्री भागको सिसा) चर्किएपछि ग्राउन्डेड गरिएको छ भने अर्को न्यारोबडी ३२० मर्मतका लागि सिंगापुर पठाइएको छ । निगमको एउटा जेट विमानले दैनिक ४० लाख हाराहारी आम्दानी गर्छ । निगमका एक निर्देशकका अनुसार यति धेरै विमान ग्राउन्डेड हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक गरी दैनिक करिब १ करोड रुपैयाँ गुम्छ ।

‘दुइटा अन्तर्राष्ट्रिय उडान रोकिँदा दैनिक कम्तीमा ९० लाख र आन्तरिक उडानमा १० लाख रुपैयाँ हाराहारी आर्जन गुम्छ,’ निगमको अर्थ विभागका एक कर्मचारीले कान्तिपुरसँग भने । उनका अनुसार निगमले आन्तरिक उडानमा मासिक ३ करोड र अन्तर्राष्ट्रिय उडानमा औसत मासिक ८५ करोड हाराहारी आम्दानी गर्छ । यी विमानको दैनिक बिमा खर्च दायित्व १२ लाख हाराहारी पर्छ । निगमले सबै जहाजसहितका लागि वार्षिक कम्तीमा ४५ करोड रुपैयाँ बराबरको बिमा प्रिमियम तिर्नुपर्छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्