Logo

सुब्बाविरुद्ध १४ करोडको ‘अकुत’ मुद्दा



काठमाडौं १६ माघ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनी रेडियो अपरेटर (सुनको जाँच गर्ने मेसिन चलाउने) हुन् ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचारवापतको चल अचल सम्पत्ति जफत र १४ करोड ६१ लाख रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको छ । उनी सुन तस्करीको अभियोगमा २०७३ पुस २७ गते निलम्बनमा परेका थिए । श्रेष्ठले ३३ किलो सुनमा प्रतिवादी ठहरिएका गुप्तलाल भुसाल र हरिशरण खड्काले दुबईबाट पठाएको सुन स्क्रिनिङ गरेर विमानस्थलबाट बाहिर पठाउने गरेको अभियोग छ । त्यही अभियोगमा रेडियो अपरेटर शाखाका प्रमुख श्रीनारायण यादवलाई पक्राउ गरिएको थियो ।

श्रेष्ठले श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसहित परिवारका अन्य सदस्यका नाममा अवैध सम्पत्ति लुकाएको दाबी गरिएको छ ।

उनको परिवारको नाममा काभ्रेपलान्चोकमा ३ सय रोपनीभन्दा बढी जग्गा छ । सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षको अवधिमा उनले गैरकानुनी धन आर्जन गरेको अख्तियारले दाबी गरेको छ ।

आरोप पत्रअनुसार २०५३ चैत ५ देखि अनुसन्धान अवधिसम्म च्वामु श्रेष्ठले वैधानिक रूपमा नौ करोड ६३ लाख ८२७ रुपैयाँ आर्जन गरेका देखिएको छ भने सोही अवधिमा उनले १९ करोड ७४ लाख ५५ हजार ८१६ रुपैयाँ खर्च तथा लगानी गरेका छन् । उनको १० करोड ११ लाख ४६ हजार ९८८ रुपैयाँ गैरकानुनी आर्जन देखिएको छ । श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको ४ करोड ४९ लाख ७७ हजार ४९० समेत गरी कुल १४ करोड ६१ लाख २४ हजार ४७८ रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

आरोप पत्रअनुसार सुब्बा पदमा कार्यरत श्रेष्ठले पारि श्रमिकवापत १८ लाख १६ हजार ९४८ रुपैयाँ बचत गरेका छन् । उनी तथा परिवारका सदस्यको नाममा ३ करोड ४७ लाख ७६ हजार ४३९ रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् ।

तलब २० लाख ४६ हजार ७०९, पेन्सन १० लाख ३६ हजार ९९५ र विदेश भ्रमणबाट प्राप्त रकम ६० हजार २२५ उनका बाबु ज्ञानकृष्ण श्रेष्ठको आम्दानी देखिएको अख्तियारको भनाइ छ । छोरी सन्ध्या श्रेष्ठको पारि श्रमिक बचत ३ लाख ७६ हजार ८१, भाइ रामकृष्ण श्रेष्ठको पारि श्रमिक बचत १४ लाख ३९ हजार ८६७ , भाइबुहारी रविना प्रधानांगको पारि श्रमिक बचत १२ लाख ६१ हजार ४२१, श्रीमती तारादेवी श्रेष्ठको पारि श्रमिक बचत ५ लाख ३३ हजार ६७५ रुपैयाँ छ ।

जग्गा बिक्रीबाट २ करोड ७९ लाख ७३ हजार ६८३, फ्ल्याट बिक्रीबाट १ करेड ५७ लाख ८७ हजार ३२०, घरबहाल आयबाट ३४ लाख आम्दानी भएको छ । उनले पदमा रहेर प्राप्त गरेको कमिसन ९ हजार ७८०, सवारी साधन बिक्रीबाट ५४ लाख १६ हजार ३१० समेत गरी जम्मा ९ करोड ६३ लाख ८ हजार ८२७ रुपैयाँ वैधानिक आय भेटिएको छ ।

अनुसन्धान अवधिसम्ममा उनको जग्गा खरिदमा २ करोड ४६ लाख ३९ हजार ३२५, घर निर्माणमा ३ करोड ८६ लाख १५ हजार ८८९, अध्ययनमा १० लाख ६८ हजार ४०३ खर्च भएको छ । उनले नमोबुद्ध एग्रो प्राइभेट लिमिटेड लगायतका कम्पनीमा ५ करोड ४७ लाख ६८ हजार लगानी गरेका छन् । ऋणको भुक्तानीमा ३ करोड ७४ लाख ४४ हजार ८०६, सवारी साधन खरिदमा २ करोड २६ लाख १६ हजार रुपैयाँ खर्चेका छन् । बैंक मौज्दात ८६ लाख १८ हजार २७८, घरबहाल कर तिरेको ३ लाख ५५ हजार ४१४, बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुर ७१ हजार ९५०, फ्ल्याट खरिदमा ९२ लाख २२ हजार ७५० र शेयर खरिदमा ३५ हजार गरी कुल १९ करोड ७४ लाख ५५ हजार ८१६ खर्च तथा लगानी गरेको देखिन्छ ।

चल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि च्वामु श्रेष्ठका श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसहित बुबा, आमा, भाइ, बुहारीसमेतलाई प्रतिवादी बनाइएको अख्तियारका सूचना अधिकारी मदन कोइरालाले बताए । च्वामु श्रेष्ठ मध्यपुर अस्पताल भक्तपुरका सञ्चालक हुन् भने सुब्बामा जागिर खाने उनी आधा करोडभन्दा बढी मोल पर्ने गाडी चढ्छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्