Logo

नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो



काठमाडौँ,१७ माघ । पछिल्ला दिनमा खासगरी यो वर्षको प्रारम्भसँगै जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धमाधम बग्रेल्ती क्रसर उद्योग खुलेका र नदीबगर तथा नदीउकास क्षेत्रमा अनियन्त्रित उत्खनन भइरहेको गुनासो बढेको छ । “रातु नदीमा बाढी आउँदा हाम्रो खेत घर बढार्छ, हामीले चम्को लगाउन ढुङ्गा खोज्दा कानून देखाइन्छ”, बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता निल लुम्रेले भन्नुभयो, “यी अजङ्गका खाल्डा बनाएर ठाउँ नै कुरुप बनाउनेलाई चैँ कानून रहेनछ ?” नदीबगर क्षेत्रमा बग्रेल्ती क्रसर खुल्दै जानु र यिनको अनियन्त्रित दोहन बढ्दा पनि अनुगमन नहुनु र नियन्त्रण नगरिनुले हाम्रै प्रतिनिधि र प्रहरी प्रशासनको संरक्षण पाएका त हैनन् भन्ने आशङ्का बढाएको लुम्रेको थप भनाइ छ ।

पछिल्ला दिनमा यस्ता गुनासा बढेसँगै थालिएको अनुगमनकै क्रममा बर्दिवास नगरपालिकाको कार्यालयले भने स्थानीयतहको निर्वाचन सम्पन्न भएर काम समालिएयता कसैलाइ क्रसर सञ्चालनको सिफारिश वा अनुमति नदिएको स्पष्ट पारेको छ । बर्दिवास नगरपालिकाले यस्तो जनाए पनि यो नगरक्षेत्रमा ५० को हाराहारीमा क्रसर उद्योग सञ्चालनमा देखिएका बर्दिवास–१४ का सामाजिक कार्यकर्ता शङ्कर फुयाँल बताउनुहुन्छ । “नगर कार्यपालिकाको कार्यालयले सिफारिश वा अनुमति दिएका छैनौँ भनेर धर पाउँछ रु” फुयाँलले प्रश्न गर्दै भन्नुभयो, “नियमन गर्नु प¥यो नि नियमसङ्गत सञ्चालनमा नरहेकालाई कानूनी दायरामा ल्याउने पहलकदमी त नगरपालिकाले लिन पर्छ ।”

यसैबीच महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा जनप्रतिनिधि र प्रहरी प्रशासनकै संरक्षणमा नदीजन्य वस्तुको दोहन बढेको गुनासो बढी रहेकैबीच प्रशासनिक निकाय र जनप्रतिनिधिमूलक संस्थाबाट स्थलगत निरीक्षण भएको छ ।

जिल्ला समन्वय समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी र इञ्जिनीयर एवं नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखले बुधबार बर्दिवास नगरपालिकामा सञ्चालित क्रसर उद्योगले गरेका अनियन्त्रित उत्खननको स्थलगत निरीक्षण गरेका हुन् ।

“नदीजन्य वस्तु बालुवा,ढुङ्गाको अनियन्त्रित उत्खनन बढ्यो, जताततै ठूल्ठूला खाल्डा बनाएर प्राकृतिक सम्पदाको दोहन बढे पनि रोकथामका प्रयत्न भएनन् भन्ने गुनासा बढे” जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले सञ्चारकर्मीसँग आज बिहान भन्नुभयो, “यस्तो गुनासो बढेपछि त्यसको स्थलगत अवस्था हेर्न हामीले पहिलो चरणको अनुगमन गरेका छौँ ।” प्रथम चरणमा बर्दिवास नगरपालिका क्षेत्रको केही ठाउँ हेर्दा कडाइका साथ नियमनको आवश्यकता देखिएको संयोजक सिंहको भनाइ छ ।

नदीजन्य सम्पदाको उत्खनन गर्ने, त्यसको उपयोग नीति बनाउने र उत्खनन इजाजत दिने काम वातावरणीय असर अध्ययन प्रतिवेदनका आधारमा सम्बन्धित स्थानीयतहले गर्नसक्ने र यसको अनुगमन जिल्ला समन्वय समितिका संयोजक नेतृत्वको स्थानीय विकास अधिकारी, जिल्लास्थित प्रहरी÷प्रशासनका प्रमुखसहित रहने जिल्ला अनुगमन समिति गर्ने अहिले कानूनी व्यवस्था रहेको छ । यता छिमेकको भङगाहा नगरपालिकाको वडा नम्बर–४ का वडाध्यक्ष अशोककुमार महतोले भने कानूनी प्रक्रिया पु¥याएका १३ वटा क्रसरलाई सिफारिश दिइएको बताउनुभयो ।

जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिकासहित तीन स्थानीयतहभित्र अहिले १०० भन्दा बढी क्रसर उद्योग सञ्चालनमा देखिएका छन् । नदीबगर क्षेत्र र नदीउकास क्षेत्रमा यिनले बनाएका ठूलठूला खाल्डामा वर्षामा पानी भरिँदा वर्षेनी खेल्न निस्केका नानीहरु डुबेर मर्ने गरेका छन् । पछिल्ला तीन वर्षयता यस्ता खाल्डामा डुबेर बर्दिवास नगरक्षेत्रभित्रै तीनको मृत्यु भइसकेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्