Logo

बार्सिलोना स्पेनिश कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश



काठमाडौं, १७ माघ । बार्सिलोना स्पेनिश कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगमा सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा पुग्न सफल भएको हो ।

बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो ।

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको आधा दर्जन गोलमा फिलिपे कौटिन्होले चमत्कार गरे । उनले २ गोल गरे ।

इभाँ राकिटिक, सर्जि रोबर्टो, लुइस स्वारेज र कप्तान लियोनेल मेस्सीले समान १ गोल गरे । १३औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २७औं मिनेटमा इभर बनेगाले पेनाल्टीमा गोल गर्न नसकेपछि सेभियाले बराबरी गर्ने मौका गुमायो ।

३१औं मिनेटमा इभाँ राकिटिकले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो । ५३औं मिनेटमा फिलिपे कौटिन्होले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढ्यो । त्यसको एक मिनेटपछि सर्जि रोबर्टोले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित तर्फ अघि बढाए ।

६७औं मिनेटमा सेभियाका गुइलहेमी एरानाले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८९औं मिनेटमा लुइस स्वारेजले र इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ६–१ को फराकिलो जित दिलाए ।

रियाल बेटिस पनि सेमिफाइनलमा पुगेको छ । बेटिसले स्पानियोललाई हराएर सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा १–१ को बराबरी खेलेको बेटिसले दोस्रो लेगमा ३–१ को जित बनाएको थियो ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्