Logo

देव गुरुङको आरोप : ‘कांग्रेसले व्यवस्था नै कोल्याप्स पार्न खोज्यो’



काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद अवरोध गरेर व्यवस्था नै ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठक कांग्रेसको अवरोधका कारण आगामी माघ २० गतेसम्मको लागि स्थगित् भएपछि पत्रकारसँगहरु संक्षिप्त कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘काँग्रेसले यो संसदीय व्यवस्था फ्लप पार्न खोज्यो, हामीलाई अब शंका लाग्न थालेको छ । पटक–पटक अवरोध गर्न खोज्नुको मतलव कतै संसदीय व्यवस्था फ्लप पार्न खोजेको त हैन ?’

विधिको कुरा गर्ने कांग्रेसजस्तो पार्टीले यसरी संसद अवरुद्ध गर्नु भनेको संसदीय व्यवस्थालाई नै ध्वस्त पार्न खोज्नु भएको उनको कडा टिप्पणी छ । उनले भने,‘कांग्रेसलाई कसैले उक्साएको जस्तो छ, व्यवस्था नै कोल्याप्स बनाउन कांग्रेस अरुले बोकाएको एजेण्डामा फस्यो ।’

तर, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले अनशनरत गोविन्द केसीसँग भएका सम्झौताहरु सरकारले हुबहु लाग नगरेसम्म संसद अवरोध जारी नै राख्ने चेतावनी दिए । उनले भने,‘हामी अवरोध कायमै राख्छौं ।’



प्रतिक्रिया दिनुहोस्