Logo

झारपातबाट सुन्दर चित्र बनाउदै मिलन



काठमाडौँ,१८ माघ । पोखरा महानगरपालिका माछापुच्छ्«े मार्गस्थित मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्ता वरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ ।जापान बसाईका क्रममा सिकेको हानानो ओशिआना सीपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल हुनुहुन्छ कलाकार मिलन शेरचन । हानानो ओशिआना अर्थात् सुकाइएका झारपातबाट चित्र बनाउने कलाले स्थापित गरेको छ शेरचनलाई ।

हानानो ओशिआना जापानी शब्द हो । दाजु अमेरिकामा भएका कारण उहाँलाई पनि अमेरिका जाने अवसर मिल्यो । केही समय अमेरिका बसाइपछि त्यतैबाट उहाँ जापान छिर्नुभयो । जापान बसाइमा साइतो सान भन्ने साथीसँग उहाँ एउटा कला प्रदर्शनीमा पुग्नुभयो । त्यहाँको कलाबाट उहाँ प्रभावित हुनुभयो । जापानी कलाकार नोहारा उमीबाट हानानो ओशिआनाका बारेमा सिक्नुभयो । जापान बसाइकै क्रममा पहिलेदेखिकै चिनजान भएका सत्यनारायण शेरचनसँग उहाँको विवाह भयो । बिहेको केही समयपछि उहाँहरू दुवै नेपाल फर्कनुभयो ।

पाँच वर्ष जापान बसेपछि सन् १९९८ मा नेपाल फर्केसँगै यो कलालाई भित्र्याएर व्यावसायिकतामा प्रवेश गर्नुभएको हो शेरचन । रहरको कलालाई व्यावसायितकतामा पु¥याउन उहाँ सफल हुनुभएको छ । सानैदेखि फरक काममा रुचि राख्ने र सिर्जनामा रमाउने बानीले हानानो ओशिआनाको कलामा स्थापित गरेको उहाँको भनाइ छ । “केही न केही नयाँ कर्ममा रमाउने बानी थियो । घर र कोठा सजाउन मकैका भुत्ला हुन् कि, दिदीले स्वेटर बुन्दा फालेका धागाका टुक्रा, जे पाए त्यसलाई कुनै कलामा सजाउन मन लाग्थ्यो । मेरो रगतमै सिर्जनशीलता दौडिरहन्थ्यो । त्यसले सफल बनायो”, कलामा लगाव र धैर्यता चाहिने उल्लेख गर्दै उहाँले भन्नुभयो ।

विद्यालय तहमा गृह विज्ञान लिएकाले पनि कलासँग जोडिन अझै सहज भएको उहाँको भनाइ छ । उहाँका हजुरबुबा भीमबहादुर भट्टचन धनशमशेर जबराको मोहारियाटोलस्थित दरबारमा सीतारावादक र तवलावादक हुनुहुन्थ्यो । बुबा झपटबहादुर भट्टचन पनि हस्तकलामा पोख्त हुनुहुन्थ्यो । कला र सङ्गीतको पारिवारिक पृष्ठभूमि भएर पनि होला मिलनमा पनि त्यो गुणको प्रभाव भेटियो । उहाँ चित्रकलामा मात्र नभई साहित्य र सङ्गीतमा पनि उत्तिकै रुचि राख्नुहुन्छ ।

विसं २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उहाँलाई पुरस्कृत ग¥यो । त्यसपछि २०४१ सालमा पनि उहाँले पुरस्कार पाउनुभयो । उहाँको ऊर्जा झनै बढ्यो ।

त्यसपछि पोखराका स्थापित कलाकारसँग उहाँको सङ्गत भयो । कलाकार बुद्धि गुरुङले उहाँलाई चित्रकलाको बारेमा सिकाउनुभयो । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि मिलनलाई हौस्यायो ।

यही हौसलाकै कारण उहाँले पहिलोपटक २०५८ सालमा थकाली सेवा समिति नदीपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभयो । सोचेभन्दा धेरै दर्शक आए । कलाको निकै प्रशंसा भयो । यही प्रेरणाले उहाँले पोखरा र काठमाडौँमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभयो । सामूहिक चित्रकलामा भने उहाँले दर्जनौँपटक सहभागिता जनाउनुभएको छ ।

रातको समयमा सिर्जना गर्न उत्कृष्ट लाग्छ उहाँलाई । “कल्पनाका विभिन्न चित्राकृतिलाई उतार्न शान्तिपूर्ण वातावरण चाहिन्छ । सबै सुतिसकेपछि आफ्नो सिर्जनामा तल्लीन हुन मन पराउँछु”, उहाँ भन्नुहुन्छ । प्रकृतिलाई जीवन्त उतार्न बढी मन पराउनुहुने उहाँले आफ्ना सिर्जनालाई रु २०० देखि दश हजारसम्ममा बिक्री गर्नुभएको छ । शेरचनले कास्कीका विभिन्न गाउँमा कला कार्यशाला गोष्ठीको संयोजक भएर कार्यक्रमसमेत गर्नुभएको छ ।

हानानो ओशिआना भनेको सुकाइएको झारपातको उचित समिश्रण गरी जीवन्त राख्नु हो । यसरी प्रयोग हुने झारपात हाम्रै वरपर पाइन्छ । आफू यताउता डुल्दा देखिने मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उपयुक्त सामग्री हुन् । घर आँगन, करेसीबारी, खेतबारी, भिरपाखा चौरतिर उम्रने झारपातको सदुपयोग गर्न जाने झारपातलाई जीवन्त पार्न सकिन्छ र आर्थिकरूपमा सशक्त बन्न सकिन्छ भन्ने नमूनाकी पात्र हुनुहुन्छ शेरचन । कलाको मर्म बुझ्नेले मात्र चित्र किन्ने गरेको शेरचन बताउनुहुन्छ ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट विद्वत्वृत्तिसमेत पाइसक्नुभएकी शेरचन दर्जन बढी सङ्घ संस्थाबाट सम्मानित भइसक्नुभएको छ । ‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उहाँ समावेश हुनुभएको छ । केही न केही गरिरहन मन पराउने शेरचनले कला क्षेत्रभन्दा बाहिर पनि निकै उदाहरणीय काम गर्नुभएको छ । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय शेरचनले ‘सुन्दर पोखराका कर्मठ नारी भाग १ र २’ को प्रकाशन गरेर विभिन्न क्षेत्रका महिलालाई समाजमा चिनाउने कामसमेत गर्दै आउनुभएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्