Logo

केसीद्वारा नौ महीनाकी बालिकालाई कलेजो दान



बेनी, १९ माघ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी नौ महीने बालिका सियाना रन्तीजाको जीवन बचाउन यहाँका एक समाजसेवीले कलेजो दान गर्नुभएको छ ।

म्याग्दीमा क्रियाशील परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्षसमेत रहनुभएका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान गर्नुभएको हो ।

शुक्रबार भारतको सर गङ्गाराम अस्पतालमा रन्तीजालाई केसीले दान गर्नुभएको कलेजो प्रत्यारोपण गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । आफ्नै आमा रेश्मा र बुबा प्रदीपको कलेजो म्याच नभएको र आर्थिक अभावको कारण उपचार अनिश्चित बनिरहेको सन्दर्भमा केसीले कानूनी प्रक्रिया पूरा गरी कलेजो दान गर्नुभएको अध्यक्ष शाक्यले बताउनुभयो ।

‘मानवीय सेवा र दानवीरको अभिलेखमा आज एउटा दुर्लभ साहस उहाँले गर्नुभएको छ, कोषलाई स्थापनादेखि अहिलेसम्मको स्थितिमा ल्याउन उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय छौँ ।’’उहाँले भन्नुभयो, “सियानालाई बचाउन कलेजो दान गर्ने केसीको करीब ३० प्रतिशत कलेजो निकालेर प्रत्यारोपण गरिएको हो ।”

प्रत्यारोपण गरिएपछि बिरामी र कलेजो दान गर्ने केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ । बेनी अस्पताल विकास समितिको अध्यक्षसमेत भइसक्नुभएका केसीले बेनी अस्पतालको गुणस्तर सुधारमा धेरै रचनात्मक पहल गर्नुभएको थियो ।

बेनीको माउण्ट एभरेष्ट आवासीय माविका अध्यक्ष समेत रहेका केसी लायन्स क्लब अफ नेपालमा समेत आवद्ध रहेर विभिन्न सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ ।

सियानाको जीवन रक्षाको लागि प्रवासमा रहेका म्याग्देलीको पहलमा रु ३० लाख आर्थिक सङ्कलन भएको थियो ।
जन्म भएको चार महीनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई मणिपाल, टिचिङ हुँदै दिल्लीसम्म पु¥याएर रोगको पहिचान गरिएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्