Logo

भरतपुर विमानस्थलको स्तरोन्नति गरिनेः मन्त्री अधिकारी



भरतपुर, १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले भरतपुर विमानस्थलको स्तरोन्नति गरिने बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अधिकारीले विमानस्थलको स्तरोन्नतिको पहल भइरहेको भन्दै व्यवस्थापकीय पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो ।

बढ्दो जनघनत्व, छोटो धावन मार्ग र विमानको चापका कारण विमानस्थलको स्तरोन्नति जरुरी रहेको उहाँको भनाइ छ । मन्त्री अधिकारीले देशका अधिकांश विमानस्थलको स्तरोन्नति भएको भन्दै सरकारले विमानस्थल सुधारका लागि तीव्रताका साथ काम गरिरहेको बताउनुभयो ।

विमानस्थलको सौन्दर्य कायम गर्न र यात्रु कक्षमा वन्यजन्तुको तस्वीर झल्कने खालका सामग्री राख्न मन्त्री अधिकारीले निर्देशन दिनुभयो । ‘विमानस्थललाई एक महीनाभित्र सुधार गर्नेगरी काम गर्नुहोस्,मन्त्री अधिकारीले भन्नुभयो’, “हेर्दा आकर्षक र मनमोहक बनाउनुहोस् ।”

भरतपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला र सिटी हल निर्माण हुन लागेका कारण पनि विमानस्थलको क्षमता विस्तार गर्नुपर्ने भरतपुर नागरिक उड्डयन कार्यालय प्रमुख पवनकुमार गौतमले बताउनुभयो ।

उहाँले विमानस्थल साँघुरो र धावन मार्ग छोटो भएका कारण समस्या आउने गरेको बताउनुभयो । भरतपुर विमानस्थलमा दैनिक १० वटासम्म उडान हुने गरेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्