Logo

ओली सरकार अप्ठ्यारोमा, राजदुत कार्की फिर्ता होलान् त ?



काठमाडौं, २० माघ । भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर विश्व विभाजित भएको छ । नेपाल सरकारले भेजेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई समर्थन जनाईसकेको छ । सरकारले विज्ञप्ती निकाल्नुअघि सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञप्ती निकालेर भेनेजुएलामा विपक्षी नेतालाई अमेरिकाले समर्थन गरेकोमा कडा निन्दा गरेका थिए ।

प्रचण्डको विज्ञप्तीले नेपालमा भने तरंग पैदा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेको बेला प्रचण्डले विज्ञप्ती निकालेर अमेरिकालाई चिढाएको आरोप पार्टीभित्रैबाटपनि लागेको थियो । तर, अन्ततः सरकारले पनि प्रचण्डको विज्ञप्तीलाई समर्थन जनाउँदै भेनेजुएलामा बाहृय हस्तक्षेप स्विकार्य छैन भनेर निन्दा गरेपछि अमेरिका नेपालसँग चिढिएको छ ।

हालै नेपाल सरकारले काठमाडौंमा रहेका विदेशी कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गरेको थियो । तर, नेपालस्थित् अमेरिकी राजदुत र्याण्डी डब्लु. बेरीले भने उक्त ब्रिफिङ नै बहिष्कार गरिदिए । त्यसपछि त नेपाल–अमेरिका कुटनीतिक सम्बन्धमा दरार पैदा भएको अनुमान लगाउन थालिएको छ ।

उता अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीसँग स्पष्टीकरण नै सोधेको कुरा बाहिर आएको छ । राजदुत कार्कीलाई फिर्ता बोलाउन लगाउनेसम्मको अमेरिकाको तयारी रहेको स्रोतको दाबी छ । अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहायता पनि अब रोक्ने बुझिएको छ ।

उता, युरोपेली देशहरूले राष्ट्रपतिको नयाँ चुनाव घोषणा गर्न दिएको समयसीमा सकिनु एक दिनअघि भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले संसदको चुनाव गर्न आफू तयार रहेको बताएका छन्।

समाजवादी नेता ह्युगो चाभेजले राष्ट्रपतिको सपथ लिएको २० औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित प्रदर्शनका क्रममा समर्थकलाई सम्बोधन गर्दै मडुरोले संसदको शीघ्र निर्वाचन गराउन आफू तयार रहेको बताए। उनले सरकारको बलियो पकड रहेको संविधान सभाले यही वर्ष राष्ट्रिय सभाको चुनाव गर्नेबारे छलफल गर्ने बताए। राष्ट्रिय सभामा अहिले विपक्षीको बहुमत छ।

मडुरोले आफू संयुक्त राज्य अमेरिकाको निर्देशनमा भएको कूको शिकार भएको बताए। उनले अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले आफ्नो पक्षमा भएका जनताको प्रदर्शनलाई नदेखाएको आरोप पनि लगाएका छन् ।

इयूले आइतबारसम्म राष्ट्रपतिको नयाँ निर्वाचन घोषणा नगरे आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुवान गुवाइदोलाई नै मान्यता दिने चेतावनी दिएको छ।

यसैबीच शनिबार गुवाइदोका समर्थकले मडुरोले सत्ता छोड्नु पर्ने माग गर्दै विशाल प्रदर्शन गरेका छन्। राजधानी काराकाससहित देशका विभिन्न सहरमा भएका प्रदर्शनमा लाखौं मानिस सहभागी भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मडुरोले जनवरी १० दोस्रो कार्यकालका लागि सपथ लिएका थिए भने राष्ट्रिय सभाका नेता गुवाइदोले जनवरी २३ मा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

भेनेजुयलाको संविधानले राष्ट्रपति नहुँदा राष्ट्रिय सभाका नेता अन्तरिम राष्ट्रपति बन्ने व्यवस्था गरेको छ। २०१८ को चुनावमा धाँधली गरेर मडुरोले जितेकाले संविधानतः राष्ट्रपति खाली भएकाले आफू अन्तरिम राष्ट्रपति बनेको गुवाइदोको तर्क छ।

संयुक्त राज्य अमेरिका, क्यानडासहित धेरै दक्षिण अमेरिकी मुलुकले गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन्। तर, चीन र रूसले भने मडुरोलाई समर्थन गरेका छन्।



प्रतिक्रिया दिनुहोस्