Logo

रुकुमपूर्वमा कर्फ्यू : सदरमुकामको विवाद चर्किदै



काठमाडौं २१ माघ । रुकुमपूर्व : रुकुमपूर्वको सदरमुकाम रुकुमकोट हुने वा गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू (निषेधाज्ञा) आदेश जारी गरेको छ।

जिल्ला प्रशासनले गोल्खाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेकाे छ।

प्रशासनले अनुरोध गर्दागर्दै विवाद नटुंगिएपछि घटनाक्रम बढ्न नदिन र शान्ति सुरक्षा कामय गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा (६ )को उपदफा (३) अनुसार आइतबार साँझ ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापहिरा खोला, पश्चिमा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरेको हो।

चार किल्लामा कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

के हो विवाद ?
रुकुमपूर्वको जिल्ला सदरमुकाम कहाँ हुने भन्ने विषयको विवाद चर्किदै जाँदा रुकुमपूर्व केही दिनयता अशान्त छ।

सरकारले रुकुम जिल्लालाई विभाजन गर्दा रुकुमपूर्वको अस्थायी सदरमुकाम रुकुमकोट तोकिएको थियो। तत्कालिन शेरबहादुर देउवा सरकारले एक वर्षअघि पुथाउत्तरगंगा गाउँपालिका १२ गाेल्खाडालाई राजधानी बनाउने निर्णय गरेपछि विवाद उब्जिएको हो।

२०७४ माघ ११ गते देउवा सरकारले राजधानी सार्ने निर्णय गरेपछि माघ १७ गते सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट दायर भएको थियो। माघ १८ गते मन्त्रिपरिषदको निर्णय तत्काल लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्यो।

रुकुमकोट र गोल्खाडाका स्थानीयले आआफ्नो क्षेत्रमा सदरमुकाम हुनुपर्छ माग गर्दै आन्दोलन गरिरहे। उता सर्वोच्च अदालतमा लागातार मुद्दाको पेशी सर्दै गयो। माघ २७ गतेका लागि यही विषयमा सर्वोच्चले १७ औं पटक पेशी तोकेको छ। यो पेशी अन्तिम हुनसक्ने अनुमान गर्दै माघ १४ गतेदेखि रुकुमकोटमा प्रदर्शन जारी छ।

रुकुमकोटमा प्रदर्शन चर्किदै जाँदा गोल्खाडाका स्थानीयले माघ २२ गते रुकुमकोटमै प्रदर्शन गर्ने घोषणा गरे। सांगीतिक कार्यक्रमसहित प्रदर्शनको तयारी हुँदै गर्दा विवाद बढ्दै गयो। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्