Logo

फ्रेन्च लिग वान : पिएसजीको अपराजित यात्रा तोडियो 



काठमाडौं, २१ माघ । लिगको २१ औँ खेलमा आएर लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्टार खेलाडी नेइमार बिनाको पिएसजीले लिगमा सिजनको पहिलो हार व्यहोरेको हो ।

आइतबार राति अवे मैदानमा भएको खेलमा पिएसजी लियोनसँग २–१ ले पराजित भएको हो । चोटका कारण मैदान बाहिर रहेका नेइमार बिनाको पिएसजीले सुरुवाति अग्रता लिए पनि हार टार्न सकेन ।

एन्जल डी मारियाले सातौँ मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । ३३ औँ मिनेटमा मोउसा डेम्बेलेले लियोनका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा पिएसजीले थप एक गोल खायो र खेल गुमायो ।

लियोनका लागि नबिल फकिरले ४९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जित दिलाएका हुन् । थिएगो सिल्भाले डेम्बेलेलाई गरेको फउलपछि पाएको पेनाल्टीमा फकिरले पिएसजीलाई लिगमा सिजनको पहिलो हारको सामना गर्ने गोल गरेका हुन् ।

हारपछि पनि शीर्षस्थानको पिएसजी दोस्रो स्थानको लिले भन्दा १० अंकले अघि छ । उसको २१ खेलबाट ५६ तथा लिलेको २३ खेलबाट ४६ अंक छ । २३ खेलबाट ४३ अंक जोडेको लियोन तेस्रो स्थानमा छ ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्