Logo

नेपाल-भारत सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठक सम्पन्न



धनुषा, २८ माघ / भारतको विहारमा हुन लागेको लोकसभालाई ध्यानमा राखी प्रदेश २ को राजधानी जनकपुरधाममा नेपाल भारत सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।

नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा आज जनकपुरमा दुई देशका अधिकारीहरूले भारतको लोकसभा चुनावमा नेपाली भूमि प्रयोग गरेर हुन सक्ने आपराधिक कार्यबारे गहन छलफल भएको बताइएको छ ।

धनुषाका प्रजिअ प्रदीप कँडेलले बैठकमा सहभागी भारतीय अधिकारीहरूको पहिलो प्रस्तावका रुपमा रहेको लोकसभा चुनावसम्बन्धी विषयमा निर्णय भएको बताउँदै उहाँले भन्नुभयो, “खुला सिमानाका कारण चुनाव प्रभावित गर्ने नक्कली नोटको ओसार–पसार हुनसक्ने खतराबारे बैठकमा छलफल भयो ।”

उहाँले चुनावका बेला नेपाल–भारत सीमामा आपराधिक क्रियाकलाप हुन नदिन दुवै तर्फका सुरक्षा निकायले निगरानी बढाउने निर्णय भएको बताउनुभयो ।

भारत, विहार राज्यको मधुवनीसँग जोडिएका महोत्तरी, धनुषा, सिराहा र सप्तरीका प्रजिअ तथा सुरक्षा निकायका प्रमुखहरुसँग भारत विहारको मधुवनीका डिएम कपिल अशोकले नेतृत्व गर्नुभएको समूहले लोकसभा चुनावको सुरक्षा अवस्थाबारे छलफल गरेका थिए ।डिएम अशोकले बैठकमा चुनावको बेला दुई तर्फबाट बोर्डर शिल गर्ने विषयमा छलफल भएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्