Logo

सौराहामा खाना पर्व



चितवन,२९ माघ । पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा खाना पर्व फुड फेष्टिवल शुरु भएको छ । पर्वको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम शुरु भइसकेको बताउनुभयो ।

प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन९रेवान० सौराहाले पर्वको आयोजना गरेको हो । सो अवसरमा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगर प्रमुख नारायण वन लगायतले सरकार र व्यवसायीबीचको संयुक्त प्रयासले मात्र सौराहाको विकास सम्भव रहेको बताउनुभएको थियो ।

सौराहामा रहेको सिसुवार खेल मैदानमा सोमबारदेखि शुरु भएको हो । पर्वमा ५० वटा खाना र पाँचवटा प्रदर्शनी कक्ष रहेको संयोजक ध्रुव गिरीले बताउनुभयो । पर्वमा विदेशीसहित विभिन्न जातजातीका परम्परागत खाना राखिएको छ । पर्व परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइएको संयोजक गिरीले बताउनुभयो । शुक्रबारसम्म पर्व चल्नेछ । पर्वमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, रेष्टुरेन्टका कर्मचारीबीच बेटर रेस, प्रेमपत्र लेखन, बालबालिकाबीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला रङ्गाउने प्रतियोगिता गरिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो ।

पर्वबाट भएको आन्दानीबाट वडा नं ५, ६, ७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने, उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने, घुम्ती शौचालन सञ्चालन गर्ने, सौराहाको सरसफाइको लागि पाँच प्रतिशत रकम विनियोजन गरिनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्