Logo

एकीकृत घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित



म्याग्दी,५ फागुन । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङको कुम्रिस्थित वडा कार्यालय परिसरमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट साढे दुई सयभन्दा बढी लाभान्वित भएका छन् ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरबाट २७२ लाभान्वित भएका हुन्् ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ७० नयाँ र १३ प्रतिलिपि नागरिकताको प्रमाणपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । बेनी अस्पतालका चिकित्सक र गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले ७७ को स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिएका छन्् ।

जिल्ला निर्वाचन कार्यालयको टोलीले ५७ को तस्विरसहितको मतदाता नामावली दर्ता गराएका छन् । सोही शिविरको अवसरमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । ५१ लाई ज्येष्ठ नागरिक र चारलाई अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको छ ।

मराङकी ७६ वर्षीया नरिमा पुनलाई गाउँपालिकाका अध्यक्ष थमसरा पुन, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत शर्मा र वडाध्यक्ष राजाराम शर्माले ज्येष्ठ नागरिक परिचयपत्र उपलब्ध गराउनुभएको थियो ।

शिविरमा मराङ र मल्कवाङका बासिन्दाले सेवा लिएका थिए । गाउँपालिकाले सञ्चालन गरेको योजना सम्झौता, अपाङ्गता र ज्येष्ठ नागरिक परिचयपत्र वितरणसम्बन्धी शिविर भने आइतबारसम्म जारी रहनेछ् ।

यसअघि धवलागिरि गाउँपालिकाको गुर्जा, लमसुङ, रघुगङ्गाको रायखोर, मङ्गलाको कुहुँ र मालिकाको देवीस्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ । अन्नपूर्ण गाउँपालिकाको शिखमा पनि शिविर सञ्चालन गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

थाइवाङमा खानेपानी आयोजना निर्माण

म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङमा पञ्चासे ओखरबोट खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । रु ७२ लाख ५८ हजार ६८८ को लगानीमा निर्माण भएको आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । सबै घरमा मिटरजडित निजी धारामार्फत खानेपानी वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकाअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत नेपाल सरकार, फिनल्याण्ड सरकार मङ्गला गाउँपालिकाको अनुदान तथा उपभोक्ताको श्रमदानमा आयोजना निर्माण भएको हो ।

नेपाल सरकारको रु २८ लाख ७७६, फिनल्याड सरकारको रु १५ लाख ७५ हजार ४३६, मङ्गला गाउँपालिकाको रु सात लाख ३३ हजार १५९, उपभोक्ताको रु ७३ हजार ३१६ लगानी रहेको आयोजना निर्माणका लागि उपभोक्ताले रु २१ लाख ४८ हजार ९१० बराबरको श्रमदान गरेका छन् ।

विसं २०७४ पुष ९ गतेदेखि निर्माण शुरु भएको आयोजनाको शनिबार मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी र परियोजनाका सरसफाइविज्ञ चन्द्रभक्त विष्टले उद्घाटन गर्नुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्