Logo

एक दिवसीय टोखा बाल साहित्य महोत्सव–२०७५ सम्पन्न



‘धेरै लेख्दैमा सफल होईँदैन, थोरै लेखेरपनि सफल भईन्छ’ : बरिष्ठ साहित्यकार श्रेष्ठ
काठमाडौं, ११ फागुन । त्रियोग माध्यमिक विद्यालय र टोखा नगरपालिकाको संयुक्त आयोजनामा एक दिने ‘टोखा साहित्य महोत्सव’को प्रथम संस्करण सम्पन्न भएको छ ।

त्रियोग माध्यमिक विद्यालय परिसरमा आयोजना भएको उक्त महोत्सवमा देशका ख्यातिप्राप्त साहित्यकारहरुको उपस्थिति रहेको थियो । विभिन्न विद्यालयका बालबालिका, किशोर–किशोरी तथा शिक्षक–शिक्षिका र आगन्तुक लक्षित २० भन्दा बढी क्रियाकलाप रहेको उक्त महोत्सव सफल भएको आयोजकको दाबी छ ।

कार्यक्रममा बरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठले यस्ता खालका साहित्यिक महोत्सवले बालबालिकाहरुलाई साहित्यप्रति झुकाव बढ्ने विश्वास दिलाए । उनले भने,‘साहित्य त्यस्तो चिज हो, जो धेरै लेख्दैमा सफल हुने कुरा होईन, थोरै लेखेर पनि सफल भईन्छ।’ साहित्य समाजको विम्बको रुपमा रहेकोले यसको महत्व धेरै रहेको उनको भनाई थियो ।

आयोजकमध्येको एक त्रियोग माध्यमिक विद्यालयका कार्यकारी निर्देशक अजित लामाले बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि यो महोत्सव कोशेढुँगा सावित भएको स्पष्ट पारे । उनकाअनुसार आजको महोसत्वमा २८ भन्दा बढि विद्यालयबाट बालबालिकाहरुको सहभागिता रहेको थियो ।

महोत्सवमा विभिन्न विधाका लेखकहरु, शिक्षाविदहरु, निती निर्माताहरु र साहित्यप्रेमीहरुको बाक्लो उपस्थिती रहको थियो । त्यस्तै महोत्सवमा कथा र कविता वाचन, चलचित्र, खेल तथा मनोरञ्जनात्मक प्रतिस्पर्धाहरु, कार्यशाला, बहस, लेखक अन्र्तकृया तथा स्थानीय सांस्कृतिक गतिविधीहरु समेत गरिएको विद्यालयका प्राचार्य निलाद्री परियालले जनाए ।

आयोजकमध्येको एक टोखा नगरपालिकाका प्रतिनिधि मधुसुदन पाण्डेले दिएको जानकारीअनुसार उक्त महोत्सवमा करिब चार हजार भन्दा बढिको सहभागिता रहेको थियो । उक्त महोत्सवमा टोखा नगरपालिका, ब्रिटिस काउन्सील, स्पोकन वर्डस, वन्यजन्तु संरक्षण नेपाल, बाल कला संग्रहालय तथा स्थानीय संघसंस्थाको समेत सहभागिता रहेको थियो ।

शिक्षाविदहरु र संघ/संस्थाहरुको सहभागितामा स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी विशेष बहस पनि सम्पन्न भएको आयोजकले जनाएको छ । शिक्षामूलक कार्यक्रममार्फत स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधारमा त्रियोग माध्यमिक विद्यालयले विशेष पहल गर्न लागेको हो ।

कार्यक्रममा साहित्यकारहरु नयनराज पाण्डे, दीपा बोहोरा, त्रेलोक्य बजगाँई, सञ्जिबिनी योञ्जन, रोचक दाहाल, लोकनाथ गुरागाँई र वासुदेव अधिकारीलगायतको उपस्थिति रहेको थियो । उनीहरुले बाल साहित्य सिर्जनाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्