Logo

पाकिस्तानले दियो भारतलाई चेतावनी



इस्लामावाद, फागुन १५ । भारतले पाकिस्तानी भूमिमा बम खसालेर तीन सयभन्दा बढी विद्रोहीको हत्या गरेको दाबी गरेपछि आक्रोसित पाकिस्तानले भारतलाई उचित जवाफ दिने चेतावनी दिएको छ ।

भारतले गरेको दाबी खण्डन गर्दै पाकिस्तानले त्यसको उचित जवाफ दिने चेतावनी दिएको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय लडाकु विमानले आफ्नो भूभागमा आक्रमण गरी विद्रोही मारेको भन्ने दाबीलाई ‘मनगढन्ते’ संज्ञा दिएका छन् । उनले विद्रोही मारिएको भारतीय दाबी अस्वीकारसमेत गरे ।

प्रधानमन्त्री खानले सैनिकसहित देशका सबै शक्तिलाई जस्तोसुकै अवस्थाका लागि तयार रहन निर्देशनसमेत दिएका छन् । उनले भारतको गैरजिम्मेवार क्षेत्रीय नीतिविरुद्ध अन्य देशसँग छलफल गर्ने बताए ।

यस्तै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले पाकिस्तानसँग निहुँ नखोज्न भारतलाई चेतावनी दिए । पाकिस्तान आफ्नो सीमा सुरक्षित राख्न सक्षम रहेको भन्दै उनले आवश्यक कदम चाल्ने बताए ।

यसअघि भारतले पाकिस्तान प्रशासित कश्मिरका विभिन्न स्थानमा बम आक्रमण गरेर ३ सयभन्दा बढी विद्रोही मारेको दाबी गरेको थियो । भारतीय वायु सेनाका १२ वटा मिराज २००० नामक लडाकु विमानले कश्मिरको सीमाबाट ३० किलोमिटरभित्र छिरेर २० मिनेटसम्म आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आक्रमणबाट मुस्लिम लडाकु संगठन जैश–ए–मोहम्मदको तालिमस्थल ध्वस्त भएको समेत भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

यही फागुन २ गते भारत प्रशासित कश्मिरको पुलवामामा ४७ जना भारतीय सुरक्षा फौजको ज्यान जाने गरी गराइएको आत्मघाती विष्फोटको जिम्मेवार ठानिएको लडाकु संगठन जैश–ए–मोहम्मदको तालिम केन्द्रमा आक्रमण गरेको भारतीय सेनाले जनाएको छ । आक्रमणबाट जैश–ए–मोहम्मदका कमाण्डर एवं संगठनका सर्वोच्च नेता मसुद अजहरका भाइ समेत मारिएको पनि भारतीय अधिकारीहरुले दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्