Logo

इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा



बग्दाद, १५ फागुन : इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ ।  विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ ।

इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यजस्तो यस्तो संवेदनशील क्षेत्रमा काम गर्ने नागरिकका लागि सुरक्षाको प्रबन्ध गर्न एक विज्ञप्तिमार्फत माग गरेको छ ।

स्वास्थ्य सुविधाबाट बन्चित महिला र बालबालिकाको उपचारका लागि इराकको उत्तरी क्षेत्रमा औषधिसहित पुगेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।

इराकमा सन् २०१८ मा मात्र कम्तीमा ४२ ओटा यस्ता आक्रमणका घटना भएका छन् जसमा करिब ४० प्रतिशत स्वास्थ्यकर्मी रहेका छन् । स्वास्थ्यकर्मीहरुलाई इराकका जुनसुकै क्षेत्रमा स्वास्थ्य उपचारका लागि खट्न, औषधि पु¥याउन र अरु क्षेत्रमा पनि लैजान दिन विश्व स्वास्थ्य संगठनले माग गरेको छ ।

इराकी स्वास्थ्यमन्त्री अला अल–दीन अल–अल्वानले मानवीय सेवामा खटिने स्वास्थ्य कर्मचारीमाथि हुने जस्तोसुकै आक्रमण क्षम्य नहुने बताउनुभएको छ । उहाँले इराकी स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई पनि आग्रह गरिएको बताउनुभयो ।

(रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्