Logo

भारत–पाकिस्तान वार्ता गर : नेपाल



काठमाडौं १६ फागुन । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष नेपालले यस क्षेत्रको शान्ति र सुरक्षामा खलल पुग्ने काम नगर्न भारत–पाकिस्तान दुवैसँग आग्रह गरेको छ। सार्कका दुई सदस्य राष्ट्र भारत–पाकिस्तानबीच बढ्दो तनाव तत्काल वार्ता र शान्तिपूर्ण द्विपक्षीय छलफलबाट समाधान गर्न सुझाउँदै नेपालले आग्रह गरेको हो।

नेपालले दुवै पक्षलाई अत्यधिक संयमित भएर समस्याको निकास खोज्नसमेत आग्रह गरेको छ। सार्क अध्यक्ष र छिमेकीको नाताले नेपालले दुवै देशबीच तनाव बढ्दै गएपछि मुख खोलेको हो। दक्षिण एसियामा नेपालले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ भन्ने शक्ति राष्ट्रको धारणा आइरहँदा नेपालले भारत–पाकिस्तानबीचको तनावमा संयमित धारणा राख्नु आफैंमा अर्थपूर्ण छ।

परराष्ट्र मन्त्रालयले बुधबार एक वक्तव्य सार्वजनिक गर्दै कुनै पनि समस्याको एक मात्र निकास वार्ता रहेको बताएको छ। ‘जम्मू र कास्मिरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावलाई लिएर नेपाल चिन्तित छ’, वक्तव्यमा भनेको छ, ‘उक्त लज्जास्पद÷आततायी कार्यको हामी निन्दा गर्छौं। सार्क अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहन्छ।’ दुवैतर्फबाट तनाव मत्थर पारेर स्थिति सामान्यीकरण गर्न वार्ता र शान्तिपूर्ण छलफल नै उपयुक्त माध्यम भएकाले त्यसतर्फ उनीहरु उन्मुख हुनुपर्ने नेपालले सुझाएको छ।

कूटनीतिक तथा राजनीतिक विश्लेषक हरि शर्माले भारत र पाकिस्तानको समस्या पुरानो भए पनि समाधानको उपयुक्त माध्यम वार्ता मात्र भएको बताए। यस क्षेत्रको शान्ति खलबलिन नदिन यी दुईले शान्तिपूर्ण वार्ताको बाटो अपनाउनुको अर्को विकल्प नभएको उनले बताए। ‘नेपालले दिएको वक्तव्य संयमित छ। ७० वर्ष पुरानो समस्या एकै पटक समाधान हुँदैन। तर समस्या मत्थर पार्दै लैजानु पथ्र्यो’, उनले भने, ‘तनाव कम गर्ने काम दुवै पक्षले गर्न जरुरी छ। अहिले भारत र पाकिस्तानबीच युद्ध भएको होइन, यो ‘मिलिटरी एक्सन’ हो। यो नागरिकलक्षित होइन। युद्ध र एक्सनमा फरक छ। यो बढ्दै गए युद्धउन्मुख हुने हो,’ उनले भने, ‘त्यो कम गर्न दुवै संयमित हुनुको विकल्प छैन।’

पाकिस्तानले आतंकवाद संरक्षण गरिरहेको आरोप भारतको छ भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देश स्थिरतातर्फ अघि बढिरहँदा आतंकवादलाई प्र श्रय दिनु जरुरी नरहेको भन्दै खण्डन गरिरहेका छन्। चीनले पनि आतंकवादलाई प्रश्रय दिन नहुने बताउँदै वार्ताबाटै समाधान खोज्न आग्रह गरेको छ भने अमेरिका र युरोपेली राष्ट्रहरूले आतंकवादी गतिविधिमा संलग्न समूहलाई संरक्षण नदिन बारम्बार पाकिस्तानलाई चेतावनी दिइरहेका छन्।

नेपाल दुई आणविक शक्ति भारत र चीनको बीचमा छ अनि नजिकै अर्को आणविक शक्ति पाकिस्तान छ। यी कुनै पनि आणविक शक्तिबीच द्वन्द्व चर्किंदा यो क्षेत्र नै समस्यामा पर्ने हुनले अन्य मित्र देश पनि सचेत हुन आवश्यक रहेको उनले बताए। सार्कका सदस्यद्वय भारत–पाकिस्तानबीच तनाव बढेपछि सार्क अध्यक्ष नेपाल गम्भीर, संयमित भएर अग्रसरता पनि लिनुपर्ने हुन्छ।



प्रतिक्रिया दिनुहोस्