फागुन १८, काठमाण्डौ । सत्तारुढ दल नेकपा अहिले शोकमा छ । नेकपा मात्रै होइन, देशले नै शोक मनाईरहेको छ । रविन्द्र अधिकारीको निधनले बेहोर्नुपरेको क्षतिले सबैलाई आहत बनाएको छ ।
यस्तो समयमा नेकपाका नेता बामदेव गौतमले बाध्य भएर एउटा स्टाटस लेखेका छन् । अधिकारीको निर्वाचन क्षेत्रमा गौतमले चुनाव लड्ने ईच्छा राखेको भन्दै कुप्रचार गरिएकाले आफ्नो विचार सार्वजनिक गर्नुपरेको उनले उल्लेख गरेका छन् ।
अधिकारीको अन्तिम संस्कार पोखरामा हुने भएपछि त्यसमा सहभागि हुन गएको तर रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको कुप्रचार गरिएको गौतमको गुनसो छ । उनले आफू कुनै पनि हालतमा अधिकारीको निर्वाचन क्षेत्रमा चुनाव नलड्ने पनि बताएका छन् । उनले स्व.अधिकारीकै पारिवारिक सदस्यलाई उम्मेदवार बनाउने प्रयास गर्ने पनि बताएका छन् ।
गौतमको स्टाटस जस्ताको तस्तै :
फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो । नेपाली राजनितिक आकासमा‘ उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मा‘त्र हो । मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचार लाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन । मेरो इच्छाविपरित पार्टीले निर्णयगरेछभने पनि मं कं रविन्द्रको दुखद निधनवाट खालिभएको निर्वाचन क्षेत्रमा‘ उमेदवार वन्ने छैन । मेरो संपूर्ण प्रयत्न स्व.क.रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार वनाउन लगाउने छु ।
वामदेव गौतम
सदस्य, नेकपा के सचिवालय




प्रतिक्रिया