Logo

रहेनन् वृद्धभत्ताका योजनाकार



काठमाडौं १८ फागुन । पूर्वअर्थमन्त्री तथा वयोवृद्ध कम्युनिस्ट नेता भरतमोहन अधिकारीको शनिबार निधन भएको छ। अधिकारीको ८२ वर्षको उमेरमा राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अधिकारी गत माघ २४ देखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

अस्पतालले अधिकारीलाई शनिबार बेलुकी ९ बजेर ३५ मिनेटमा निधन भएको घोषणा गरेको हो। अस्पतालले अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जानकारी दिन शनिबार दिउँसो पत्रकार सम्मेलन गरेको थियो। अधिकारी लामो समयदेखि दम, मुटुरोग र उच्च रक्तचापबाट पीडित थिए। अधिकारीको उपचारमा वरिष्ठ फिजिसिएन डा. अर्जुन कार्की, डा. भगवान कोइराला, मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी, डा. हेमराज पनेरुलगायत संग्लग्न थिए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्तका अनुसार शुक्रबार दिउँसोदेखि अधिकारीको पिसाब बन्द भएको थियो। साथै उनको रक्तचाप बढाउन औषधि प्रयोग गरिएको थियो। सिक्किम र दुबईमा रहेका उनका छोरीहरू झिकाएर परिवारका सदस्य, नेकपाका वरिष्ठ नेताहरूसँगको छलफलपछि अस्पतालले नेता अधिकारीको निधनको औपचारिक पुष्टि गरेको थियो।

पछिल्लोपटक उनी गत पुस २३ देखि अस्पतालमा भर्ना भएका थिए। सुरुमा उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा राखिए पनि माघ २४ मा ह्याम्समा सारिएको परिवारका सदस्यहरूले जनाएका थिए।

को हुन् अधिकारी ?

कम्युनिस्ट नेता अधिकारी महोत्तरी, भ्रमरपुरामा जन्मे पनि पछि विराटनगर बसाइँ सरेका थिए। अधिकारीका पिता रामचन्द्र अधिकारी राणाकालमा सुब्बा थिए। राणाहरूले उनको बुबाको जागिर खोसेपछि बिपी कोइरालासँगको सान्निध्यका लागि अधिकारी परिवार विराटनगर बसाइँ सरेको थियो।

अधिकारी एसएलसी (त्यसबेलाको म्याट्रिक) अध्ययनका लागि बनारस गएका थिए। त्यही बेला उनीलगायतले बनारसमै वामपन्थी विद्यार्थी समूह बनाई राजनीति सुरु गरेका थिए। सोही क्रममा उनले भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। इलाहाबादबाट अर्थशास्त्रमा एमए गरेका अधिकारीले कानुनमा स्नातक गरेका थिए।

२०१४ सालको नेकपाको दोस्रो महाधिवशेनका बेला उनी महाधिवेशन प्रतिनिधि थिए। नेकपाको तेस्रो महाधिवेशनमा उनी पार्टी केन्द्रीय समिति सदस्य निर्वाचित भएका थिए। अधिकारीले उपप्रधानमन्त्री, चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन विभाग प्रमुखजस्ता भूमिका निर्वाह गरेका थिए। २०५१ सालको तत्कालीन एमालेको नौमहिने सरकारका अर्थमन्त्री रहँदा अधिकारीले पूरक बजेटमार्फत ‘आफ्नो गाउँ आफैं बनाऊँ’ देखि सामाजिक सुरक्षा योजनाअन्तर्गतको ‘वृद्धभत्ता’ वितरणको योजना ल्याएका थिए। त्यही योजनाका कारण अधिकारी अहिले पनि आममानसिको स्मरणमा छन्।

२०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अधिकारीसँगै एउटै मन्त्रिपरिषद्मा रहेर काम गरेका नेकपा वरिष्ठ नेता माधव नेपाल अधिकारीलाई ‘परिपक्व र अनुभवी नेता’ का रूपमा स्मरण गर्छन्।

‘भरतमोहन पुरानो पुस्ताका अगुवा व्यक्ति हुनुहुन्छ। संविधान निर्माणदेखि तत्कालीन एमाले नेतृत्वको सरकारलाई लोकप्रिय बनाउने कार्यक्रम बजेटमार्फत ल्याउन उहाँको ठूलो देन रह्यो,’ वरिष्ठ नेता नेपालले भने। ०५१ मा अर्थमन्त्री हुँदा अधिकारीले घोषणा गरेको बजेटको लोकप्रियताबाटै २०५४ को स्थानीय चुनावमा तत्कालीन एमालेले अत्यधिक स्थानमा चुनाव जितेको थियो।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले अधिकारीसँग आफ्नो २०३८ सालदेखि भेटघाट भएको स्मरण गरे। आफू भेन्टिलेटरमा जानुअगाडि अधिकारीले पार्टी नेताहरूलाई सन्देश छाडेको र त्यही सन्देशलाई पार्टीले आत्मसात् गरेर जाने दाहालले बताए। ‘उहाँ (भरतमोहन) ले भेन्टिलेटरमा जानुअगाडि पार्टी, देश र समाजको समृद्धिका लागि नेताहरू मिलेर जाऊन् भन्ने सन्देश कृष्ण आचार्यलाई छोड्नुभएको रहेछ। आचार्यले मलाई त्यो सन्देश सुनाउनुभएको छ,’ दाहालले भने, ‘उहाँको त्यो अन्तिम सन्देश महत्त्वपूर्ण छ। हामी सबै नेताले त्यसलाई आत्मसात् गर्छौं।’

नेकपा स्थायी समिति सदस्य तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अधिकारीको पुस्ता सफल भएको स्मरण गरे। ‘राणाविरोधी आन्दोलनदेखि पञ्चायतविरोधी आन्दोलन हुँदै बहुदल र गणतन्त्रसम्म उहाँले आफ्नै जीवनकालमा देख्न पाउनुभयो। उहाँको पुस्ता सफल पुस्तामा पर्छ,’ मन्त्री पोखरेलले भने।

पछिल्लो समय सक्रिय राजनीतिमा नरहे पनि उनले राजनीतिबाटै संन्यास भने लिएका थिएनन्। तत्कालीन एमालेको २०७१ सालमा काठमाडौंमा सम्पन्न पार्टीको नवौैं महाधिवेशनमा उनले राजनीतिबाट वि श्राम लिने घोषणा गरेका थिए। एमालेले पार्टी विधानमै सक्रिय जिम्मेवारीका लागि ७० वर्ष उमेरहद लगाएका कारण अधिकारीले राजनीतिबाट वि श्राम लिने घोषणा गरेका थिए।

अधिकारी २००८ सालदेखि नै राजनीतिक दलमा आबद्ध भएका थिए। राजनीतिक यात्राका क्रममा उनले ४ वर्ष भूमिगत जीवन, ३ वर्ष निर्वासन, ३ वर्ष बन्दी जीवन बिताएका थिए। उनी राजनीतिमा स्थिर नेता हुन्। ६ दशकभन्दा बढी समय उनले निरन्तर एउटै पार्टीमा रहेर काम गरे। कतिपय नेताहरूले अवसर र महत्त्वाकांक्षाका लागि पार्टी अदलबदल गरे पनि उनले कहिल्यै आफ्नो राजनीतिक सिद्धान्त छाडेनन्। माले र माक्र्सवादी मिलाएर तत्कालीन एमाले बनाउँदा अधिकारीको भूमिका महत्त्वपूर्ण थियो।

सरकारलाई सुझाव दिने योजना अधुरै

सक्रिय राजनीतिमा नरहे पनि अधिकारी प्रधानमन्त्री केपी ओलीलाई भेटेर सरकारलाई लोकप्रिय बनाउन गर्नुपर्ने कामका विषयमा सुझाव दिन चाहन्थे। अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि उनले बजेट भाषणअगाडि भेटेरै केही सझुाव दिन चाहेका थिए। तर अर्थमन्त्री खतिवडाले अधिकारीसँग सुझाव लिएनन्। ‘म अर्थमन्त्रीलाई बजेटअगाडि केही सुझाव दिन चाहन्थें, उहाँले आउँछु पनि भन्नुभएको थियो, तर आउनु भएन,’ अधिकारीले गत पुस पहिलो सातातिर अन्नपूर्णसँगको कुराकानीमा भनेका थिए।

दुई तिहाइसहित नेकपाले सरकारको नेतृत्व सम्हाले पनि सरकार प्रभावकारी नबनेको देख्दा अधिकारी सन्तुष्ट थिएनन्। उनले प्रधानमन्त्रीलाई भेटेरै केही सुझाव दिन चाहेका थिए। त्यसका लागि उनले ४० मिनेट प्रधानमन्त्रीसँग समय उपलब्ध गराइदिन आग्रह गरेका थिए। त्यसपछि उनी बिरामी भई अस्पताल भर्ना भए। उनले प्रधानमन्त्रीलाई सुझाव दिन पाएनन्।

अधिकारीका पत्नी ओमकुमारीसहित तीन छोरी छन्। अधिकारीको शव श्रद्धाञ्जलिका लागि आइतबार बिहान ९ देखि १२ बजेसम्म नेकपा मुख्यालय धुम्बाराहीमा राखिनेछ। त्यसपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने नेकपाले जनाएको छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्