Logo

रियल मड्रिड आफ्नै मैदानमा बार्सिलोनासँग पराजित



काठमाडौं, १९ फागुन । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । स्पेनिस फुटबलका दुई कट्टर प्रतिद्धन्दीबीच गएराती भएको ‘एल क्लासिको’ भिडन्तमा बार्सीलोना १–० ले विजयी भयो ।

खेलमा बार्सालाई विजयी गराउन इभाँ राकिटिचले निर्णायक गोल गरे । चार दिनको अन्तरमा बार्सिलोनासँग रियाल मड्रिडको यो दोस्रो हार हो ।

चार दिनअघि भएको ‘कोपा डेल रे’ फुटबलको सेमिफाइनल खेलमा पनि बार्साले रियाललाई हराएको थियो । गएरातीको जितपछि बार्सिलोनाले अंक तालिकामा १० अंकको अग्रता लिएको छ । शीर्ष स्थानको बार्साको २६ खेलबाट ६० अंक छ ।

एक खेल कम खेलेको एट्लेटिको मड्रिड ५० अंकसहित दोस्रो स्थानमा छ भने ४८ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्