Logo

तीन गाउँपालिकामा पाठ्यपुस्तक अभाव नहुने



हुम्ला, १९ फागुन । हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि समयमा नै पाठ्यपुस्तक भित्रिएका छन् ।

हिमाली जिल्लालगायत देशका अधिकांश जिल्लामा फागुनबाट शैक्षिक सत्र शुरु हुने गर्दछ । हुम्लामा फागुन २ गतेबाट शैक्षिक सत्र शुरु भएको छ । पाठ्यपुस्तक सिमकोट बजारमा रहेका स्टेशनरीमा आइपुगेका छन् तर हिमपातले पठनपाठनमा समस्या बनाएको छ ।

जिल्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ल्याउने जिम्मा लिएको साझा प्रकाशनका वितरक रोकाया सपिङ सेन्टरले यो वर्ष समयमा नै पाठ्यपुस्तक जिल्लामा पुगाएको छ ।

जिल्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाले फागुन १७ गतेसम्म विद्यार्थी भर्ना मिति रहेकाले अब फागुन २० गतेबाट विद्यालयमा पठनपाठन कार्य शुरु गरिने मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो । विगतका वर्षभन्दा यो वर्ष समयमा नै पाठ्यपुस्तक जिल्लामा पुगेकाले विद्यार्थीलाई पठनपाठन गर्न सहज हुने भएको प्रधानाध्यापक शाहीले बताउनुभयो ।

पुस्तक पसलबाट विद्यालयको विद्यार्थी सङ्ख्या हेरेर पाठ्यपुस्तक जिम्ला लिएर वितरण गर्ने व्यवस्था रहे पनि हुम्ला जिल्लाको भौलिक कठिनाइ, पुस्तक ढुवानीको समस्याले गर्दा विद्यार्थीले आफैँ किनेर लिने र पछि विद्यालयले बिल बराबरको रकम उपलब्ध गराउने गरेको शाहीले बताउनुभयो ।

सरकारले माध्यामिक तहसम्मको पठनपाठन निःशुल्क गरेसँगै विद्यार्थीले पुस्तक निःशुल्क पाउने गरेका छन् । रोकाया पुस्तक पसलबाट तीन वटा गाउँपालिकामा अध्यनरत विद्यार्थीले पुस्तक खरीद गरिरहेको सोही स्टेशनरीका सञ्चालक ज्ञानबहादुर रोकायाले बताउनुभयो । यस वर्ष आफूले जिम्मा लिएको हुनाले तीनवटै गाउँपालिकामा पाठ्यपुस्तक अभाव हुन नदिने सञ्चालक रोकायाले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्